शर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
एजेन्सी : इरानले अमेरिकासँगको आणविक सम्झौताका पूर्वनिर्धारित शर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने चेतावनी दिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अन्तरिम सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने स्पष्ट पारेका हुन्।
इरानको सरकारी सञ्चारमाध्यम ‘इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ’ (आईआरआईबी)सँग कुरा गर्दै विदेशमन्त्री अराघचीले प्रारम्भिक सम्झौता पश्चात् अमेरिकालाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न ६० दिनको समय दिइने बताए।
सो अवधिमा अमेरिकाले आफ्ना दायित्वहरू पूरा गरेपछि मात्रै परिस्थिति सहज बन्ने उनको भनाइ छ। समझदारी तथा सहमति पत्रका सम्पूर्ण प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर हुन नसक्ने उनले स्पष्ट पारे।
आणविक सम्झौताका सम्बन्धमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भित्र सामूहिक रूपमा निर्णय गरिने र परिषद्बाट सम्झौता स्वीकृत भएमा मात्र हस्ताक्षर गरिने विदेशमन्त्री अराघचीले जानकारी दिए।
अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै उहाँले कार्यान्वयनका चरणमा चुनौतीहरू आउन सक्ने चेतावनी समेत दिए।
आफ्ना प्रतिबद्धताहरू तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव नै भएको टिप्पणी गर्दै उनले अमेरिकाले सम्झौता कार्यान्वयन नगरी अवरोधहरू सिर्जना गरेमा इरानले अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने दृढता व्यक्त गरे।
आफ्नो देशको सुरक्षा ग्यारेन्टीका लागि इरान संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्, संयुक्त राष्ट्र सङ्घ वा कुनै अन्तरक्षेत्रीय गठबन्धनमा भर नपर्ने विदेशमन्त्री अराघचीले प्रष्ट पारे। उनले इरान ईश्वर, आफ्ना जनता र आफ्नै सशस्त्र सेनाको बल र समन्वयमा अगाडि बढ्ने बताए।
जेठ ३०, २०८३ शनिबार ११:४४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।