इरानमा अमेरिकी हवाई आक्रमण : जवाफमा होर्मुज स्ट्रेट बन्द, जहाजहरूलाई निशाना बनाउने इरानको चेतावनी
एजेन्सी : अमेरिकाले इरानका विभिन्न स्थानहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी आक्रमणको जवाफमा इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘होर्मुज स्ट्रेट’ बन्द गरेको घोषणा गरेको छ।
अमेरिकी आक्रमणको एक घण्टापछि इरानको युद्ध व्यवस्थापन मुख्यालय ‘खातम अल-अनबिया’ले एक विज्ञप्ति जारी गर्दै तेल ट्याङ्कर र व्यापारिक जहाजसहित कुनै पनि प्रकारका जलयान आवतजावतमा रोक लगाएको हो।
बीबीसी फारसीका अनुसार इरानले सो क्षेत्रबाट गुज्रिने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पनि फारसको खाडी र ओमान सागरमा रहेका कुनै पनि जहाजलाई आफ्नो लङ्गर नछोड्न चेतावनी दिएको छ।
फार्स न्यूज एजेन्सीका अनुसार आईआरजीसीले होर्मुज स्ट्रेटबाट अवैध रूपमा प्रवेश गर्न खोजेका दुईवटा जहाजलाई निशाना बनाइसकेको दाबी गरेको छ।
यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सामाजिक सञ्जाल 'एक्स' मार्फत अमेरिकी कदमको कडा आलोचना गरेका छन्।
उनले लेखेका छन्, ‘महत्वपूर्ण पूर्वाधारहरू मानिसका जीवनरेखा हुन्। यातायात, बिजुली र पानीका केन्द्रहरूलाई निशाना बनाउनु शक्ति प्रदर्शन नभई कुनै देशको दृढ संकल्पसामु उत्पन्न भएको हताशाको संकेत हो।’
राष्ट्रपति पेजेस्कियानले इरानले आफ्ना विज्ञहरूको क्षमता, राष्ट्रिय एकता र दृढताका बलमा जुनसुकै दबाब वा धम्कीको डटेर सामना गर्ने स्पष्ट पारेका छन्।
त्यस्तै, इरानको तसनीम न्यूज एजेन्सीले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी सैन्य आक्रामकताको सैन्य रूपमै जवाफ दिने र कुनै पनि धम्कीसामु घुँडा नटेक्ने बताएको उल्लेख गरेको छ।
जेठ २८, २०८३ बिहीबार ०८:३६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।