सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्ति प्रक्रिया नसच्याए आन्दोलन गर्ने स्वास्थ्यका ८ संगठनको चेतावनी

सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्ति प्रक्रिया नसच्याए आन्दोलन गर्ने स्वास्थ्यका ८ संगठनको चेतावनी

काठमाडौँ : शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्ति प्रक्रिया नसच्याए आन्दोलन गर्ने भन्दै स्वास्थ्य क्षेत्रका आठवटा संगठनले सरकारलाई चेतावनी दिएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले गत जेठ ७ गते प्रकाशित गरेको उपकुलपति तथा रजिस्ट्रार नियुक्तिको सूचनाको कामकाज रद्द गरी स्वास्थ्य क्षेत्रकै विज्ञको संयोजकत्वमा सिफारिस समिति पुनर्गठन गर्नुपर्ने उनीहरूको माग छ।

माग सम्बोधन नभए देशभरि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने असुविधाको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनीहरूले बताएका छन्।

यस विषयमा बुधवार आठ संगठनले संयुक्त हस्ताक्षर गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापन पत्र बुझाएका छन्।

आन्दोलनरत सङ्गठनहरूले विश्वविद्यालय ऐनका केही बुँदाहरू अव्यवहारिक रहेको भन्दै परिमार्जनको माग गरेका छन्। ऐनको दफा २४ (क) मा  उपकुलपतिको योग्यतामा तोकिएको पिएचडी, डीएम र एमसीएचको व्यवस्था हटाएर कम्तीमा स्नातकोत्तर तह वा सोभन्दा माथिको उपाधि तथा प्राध्यापक भएको हुनुपर्ने माग गरेका छन्।

डीनको योग्यतामा पनि पिएचडी, डीएम र एमसीएच हटाएर स्नातकोत्तर तह वा सोभन्दा माथिको उपाधि एवं प्राध्यापक हुनुपर्ने र स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्य क्षेत्रका विषयहरूको अध्ययन, अध्यापन तथा अनुसन्धान गर्नुपर्ने भएकाले पदपूर्ति समितिको संयोजक अनिवार्य रूपमा स्वास्थ्य क्षेत्रकै विज्ञ हुनुपर्ने लगायतका माग राखेका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले बुधवार शिक्षा र स्वास्थ्य मन्त्रीलाई भेटेर संयुक्त हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाइएको जानकारी दिए।

नेपाल चिकित्सक संघ मन्त्रीलाई,एसोसिएसन अफ प्राइभेट इन्स्टिच्युसन अफ नेपाल, एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल, नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल फर्मास्युटिकल्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल फिजियोथेरापी संघले ज्ञापन पत्र बुझाएका हुन्।

जेठ २७, २०८३ बुधबार २१:०२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।