पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु भएको तालिबानको दाबी
एजेन्सी : अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान हवाई क्षेत्रको उल्लंघन गर्दै ड्युरान्ड लाइन नजिकैका विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको बताएका छन्। मंगलबार र बुधबारको मध्यरातमा यी आक्रमणहरू भएका हुन्।
प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल 'एक्स' मा केही तस्बिरहरू साझा गर्दै पाकिस्तानी सेनाले कुनार, खोस्त र पक्तिका प्रान्तका सर्वसाधारणका घरहरूलाई निशाना बनाएर बमबारी गरेको उल्लेख गरेका छन्।
उक्त आक्रमणमा ११ जना बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको र अन्य १४ जना महिला तथा बालबालिका घाइते भएको दाबी उनले गरेका छन्।
तालिबान सरकारले यी हवाई आक्रमणलाई 'मानवीय अपराध' र 'हस्तक्षेपकारी कदम' भन्दै यसको कडा निन्दा गरेको छ। यद्यपि, यस आक्रमणको विषयमा पाकिस्तानका तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
पछिल्ला केही महिनायता पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ।
यसअघि गत मार्च महिनामा पनि पाकिस्तानले अफगानिस्तानको एक केन्द्रमा आक्रमण गरेको थियो। संयुक्त राष्ट्रसंघीय सहायता नियोगका अनुसार उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो।
पाकिस्तानले आफ्नो देशमा हुने आतंकवादी गतिविधिमा अफगानिस्तानको तालिबान सरकारले सहयोग पुर्याएको आरोप लगाउँदै आएको छ।
तर, तालिबान सरकारले भने यो आरोपको लगातार खण्डन गर्दै आफ्नो भूमि कुनै पनि छिमेकी देशविरुद्ध प्रयोग हुन नदिने दाबी गर्दै आएको छ।
जेठ २७, २०८३ बुधबार १०:४८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।