इरान-अमेरिका तनाव : अमेरिकी आक्रमणको बदलामा इरानद्वारा तीन देशका अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार
एजेन्सी : इरान र अमेरिकाबीचको सैन्य तनाव फेरि बढेको छ। स्ट्रेट अफ हर्मुज क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणको बदलास्वरूप इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा जवाफी हमला गरेको छ।
मंगलबार अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको घटनाबाट यो सैन्य टकराव सुरु भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ड्रोन प्रयोग गरेर सो हेलिकप्टर खसालेको आरोप लगाएका थिए। हेलिकप्टरमा सवार दुई जना पाइलटलाई भने अमेरिकी सैन्य इतिहासमै पहिलो पटक मानवरहित समुद्री ड्रोनको सहयोगमा सुरक्षित उद्धार गरिएको छ। पाइलटहरू सुरक्षित रहेको पुष्टि गर्दै ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेखेका छन्, "दुवै पाइलट सुरक्षित छन्, तर पनि यो आक्रमणको जवाफ दिनु अमेरिकाको बाध्यता र आवश्यकता हो।"
हेलिकप्टर खसालिएको जवाफमा अमेरिकी सेन्ट्रल कमाण्डले मंगलबार बेलुकीदेखि इरानको क्युशम टापु, बन्दर अब्बास र सिरिक जस्ता तटीय क्षेत्रका रक्षा तथा राडार प्रणालीहरूलाई लक्षित गरी हवाई आक्रमण सुरु गरेको थियो। सेन्ट्रल कमाण्डले यसलाई इरानको बिनाकारणकोआक्रामक व्यवहार विरुद्ध गरिएको 'समानुपातिक जवाफ' भनेको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी हमलाका कारण इरानको सिरिक सहरमा रहेको एउटा दूरसञ्चार टावरमा क्षति पुगेको छ भने दुईवटा पानीका ट्याङ्कीहरू ध्वस्त भएका छन्।
यसैबीच इरानको अर्ध-सरकारी समाचार एजेन्सी 'मेहर' ले इरानले हेलिकप्टर खसालेको जिम्मेवारी औपचारिक रूपमा नलिएको उल्लेख गरेको छ।
अमेरिकी आक्रमण लगत्तै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई क्षेत्र छोड्न चेतावनी दिएका थिए। त्यसको केही घण्टामै आईआरजीसीले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी बेसहरूमा मिसाइल तथा ड्रोन आक्रमण गर्यो। आईआरजीसीले आफ्ना सैन्य दस्ताहरू अमेरिकी सेनाको जुनसुकै कदमको ‘निर्णायक’ जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएको छ।
इरानले चेतावनी दिँदै भनेको छ, "आगामी दिनमा परिस्थिति अझ बिग्रिएमा त्यसको सम्पूर्ण जिम्मेवारी वासिङ्टनले लिनुपर्नेछ।"
राष्ट्रपति ट्रम्पले केही दिनमै एउटा सम्झौता हुन लागेको र रस्ट्रेट अफ हर्मूज खुला हुने दाबी गरिरहेकै बेला यो सैन्य टकराव सुरु भएको हो।
जेठ २७, २०८३ बुधबार ११:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।