दिल्ली पुलिसद्वारा ककरोच जनता पार्टीलाई प्रदर्शनको अनुमति, संस्थापक अभिजीत दिल्ली आइपुगे
एजेन्सी : सामाजिक सञ्जालमा चर्चामा रहेको ‘ककरोच जनता पार्टी’ (सीजेपी)ले नयाँ दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गर्न अनुमति पाएको छ।
दिल्ली पुलिसले अनुमति दिएसँगै सीजेपीका संस्थापक अभिजीत दीपकेले आफ्ना समर्थकहरूलाई सिधै जन्तर-मन्तरमा भेला हुन अपिल गरेका छन्।
दीपकेले सामाजिक सञ्जाल एक्समार्फत बिहान १० बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु हुने जानकारी दिएका छन्।
उनले आफू दिल्ली विमानस्थलमा अवतरण गरिसकेको उल्लेख गर्दै आन्दोलनलाई शान्तिपूर्ण रूपमा अगाडि बढाउन समर्थकहरूसँग आग्रह गरेका छन्।
उनको आगमनलाई लिएर दिल्ली विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।
यसैबीच, लद्दाखका पर्यावरण कार्यकर्ता तथा शिक्षाविद् सोनम वाङचुकले विमानस्थलमा अभिजीतको गिरफ्तारी हुन सक्ने आशङ्का व्यक्त गरेका थिए।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ‘राम्रोको आशा राखौँ, तर नराम्रो परिस्थितिका लागि पनि तयार रहौँ। यस आन्दोलनलाई भारतको इतिहासकै सबैभन्दा शान्तिपूर्ण आन्दोलन बनाऔँ।’
वाङचुकले प्रदर्शनका क्रममा कुनै पनि घुसपैठ वा बदमासी नहोस् भन्ने कुरामा सजग रहन पनि सबैलाई सचेत गराएका छन्।
सीजेपीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै यो विरोध प्रदर्शन गर्न लागेको हो।
जेठ २३, २०८३ शनिबार १०:००:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।