मिमबाट सुरू भएको ‘ककरोच जनता पार्टी’ आज सडक आन्दोलनमा उत्रिँदै

मिमबाट सुरू भएको ‘ककरोच जनता पार्टी’ आज सडक आन्दोलनमा उत्रिँदै

एजेन्सी : सामाजिक सञ्जालमा चर्चित बनेको मिम अभियान ‘ककरोच जनता पार्टी’ (सीजेपी) भर्चुअल संसारबाट बाहिर निस्केर सडक आन्दोलनमा परिणत हुने भएको छ।

यसका संस्थापक अभिजीत दीपके अमेरिकाबाट शनिबार बिहान नयाँ दिल्ली आइपुग्दै छन्। सीजेपीले नयाँ दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गर्ने योजना बनाएको छ।

सीजेपीले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल 'ककरोच इज ब्याक' मार्फत आफ्ना समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ। उनीहरूले भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।

सीजेपीका प्रवक्ताहरू सौरव दास र आशुतोष रांकाले समर्थकहरूलाई राष्ट्रिय झण्डा, किताब र फूल लिएर शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। प्रदर्शनका लागि दिल्ली प्रहरीबाट अनुमति मिल्ने वा नमिल्ने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।

यसरी भयो सीजेपीको सुरुवात
संस्थापक अभिजीत दीपकेका अनुसार यो अभियानको सुरुवात भारतका प्रधानन्यायाधीशको एक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै भएको थियो।

प्रधानन्यायाधीशले प्रणालीको आलोचना गर्ने युवाहरूको तुलना 'ककरोच' (साङ्लो) र परजीवीहरूसँग गरेपछि दीपकेले व्यङ्ग्य स्वरूप 'ककरोच जनता पार्टी' नामक अनलाइन प्यारोडी पार्टीको घोषणा गरेका थिए।

यो अभियान छोटो समयमै निकै लोकप्रिय बन्यो। हाल यसको इन्स्टाग्राम पेजमा २ करोड २० लाखभन्दा बढी फलोअर्स छन् भने २ लाखभन्दा बढी मानिसले यसको अनलाइन सदस्यता लिइसकेका छन्।

के भन्छन् विश्लेषकहरू?
राजनीतिक विश्लेषकहरूले यो आन्दोलनलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन्।

राजनीतिक विश्लेषक योगेन्द्र यादव भन्छन्, ‘ककरोच जनता पार्टी केवल एउटा आन्दोलन मात्र नभएर युवाहरूको आक्रोश र निराशाभित्र लुकेको आशाको एउटा दुर्लभ रूप हो। यसलाई बेवास्ता गर्नु गल्ती हुनेछ।’

त्यस्तै, वरिष्ठ पत्रकारहरू स्मिता शर्मा र रशीद किदवईका अनुसार सामाजिक सञ्जालको यो लोकप्रियता धरातलमा कस्तो देखिन्छ भन्ने कुरा शनिबारको प्रदर्शनमा सहभागी हुने भीडले तय गर्नेछ।

सामाजिक सञ्जालभन्दा बाहिर निस्केर दिल्लीको गर्मीमा यदि केही हजार मानिस पनि प्रदर्शनमा सहभागी भए भने यसले राजनीतिमा ठूलो प्रभाव पार्ने र सरकारलाई सोच्न बाध्य बनाउने उनीहरूको विश्लेषण छ।

जेठ २३, २०८३ शनिबार ०८:१८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।