जंगी अड्डामा लोकतन्त्र खोज्ने ‘रक्षा’
के हो अहो ! अमृत त्यो सुरदेव पान?
सच्चा कमाइ गरिखानु भनेर जान।
खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘प्रश्नोत्तर’ कविताको यो पंक्ति जेनजी आन्दोलनकी प्रमुख रक्षा बमको मन पर्ने सूचीमा पर्ने रहेछ । उनलाई मन त पर्छ नै, उनको पछिल्लो व्यवहारसँग यो पंक्ति मिसाउने हो भने मिलेको पनि देखिन्छ ।
२०८२ भदौ २३ गते बिहानै ९ बजे माइतीघर मण्डलामा प्रदर्शनमा आएका विद्यार्थीहरूलाई फूल नभाँच्न, सडकमा भएका फोहोर उठाउन आह्वान गरेकी एक आन्दोलनकारी यिनै रक्षा नै हुन् ।
प्रदर्शनमा गोली चलेर विद्यार्थी मारिएपछि सिर्जित अन्योलपछिका दिनमा लोकतन्त्रका लागि जङ्गी अड्डाबाट निस्किएकी पात्र पनि उनी नै हुन् । यिनै लोकतन्त्र बुझेका ‘काँचा’हरूले जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देललाई ‘कु गर्न लाग्नुभएको हो ?’ भनेर नसोधेको भए देशको शासन प्रणालीको स्वरूप कस्तो हुन्थ्यो होला ? उनीहरूले ‘हामी तपाईँहरूसँग होइन, हाम्रा राष्ट्रपतिसमक्ष वार्ता गर्छौँ’ नभनेको भए कति दिन राष्ट्रपति विज्ञप्तिमा मात्रै देखिन्थे होला ?
बमसहितका युवाले गरेको प्रश्न नै सेनालाई ‘कू’को मुडबाट फर्कन मुख्य शक्ति बन्यो । उनीहरू जङ्गी अड्डाबाट बाहिरिएर जङ्गी अड्डामा भएका कुरा मिडियामार्फत सार्वजनिक गरेपछि नै राष्ट्रपति विज्ञप्तिको भूमिकाबाट बाहिर आएर सार्वजनिक भए र नागरिक सरकार बनाउन सक्रिय हुन सके ।
“मलाई सैनिक अड्डामा जाँदा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्रको खूब माया लागिरहेको थियो । केही त हुने होइन भन्ने संशय थियो । सेनाको भूमिका ठीक नलागेपछि हामी केही साथी बस्यौँ, केही बाहिरियौँ,” उकेरासँग उक्त वार्ताको दिन सम्झँदै रक्षाले भनिन्, “यदि हामीले सेनाको भूमिकाबारे मिडियामा नभनेको भए अहिले हामी अर्कै व्यवस्थामै पो हुन्थ्यौँ कि !”
उनले लोकतन्त्रको मायाले जङ्गी अड्डाभित्र गन्हाएको लोकतन्त्र विरोधी गतिविधि बाहिर त भनिन् तर त्यसले उनलाई नै जोखिममा पार्यो । राजनीतिक संवाद आफ्नो नेतृत्वमा ल्याएर जसलाई चाह्यो त्यसलाई प्रधानमन्त्री छान्ने, जङ्गी शासनको अभ्यास गर्ने मौका पाएको सैनिक नेतृत्व उनीसँग रिसायो ।
अनि रक्षासहितको समूहले बाहिर निस्केर सेनाको भूमिकाबारे प्रश्न उठाएपछि एक सैनिक अधिकृतले रक्षालाई फोन गरेर धम्क्याए- ‘आफ्नो सुरक्षा आफैँ गर्नु ।’ उनको झर्कोलाग्दो बोली रक्षाले अहिले पनि बिर्सिएकी रहिनछिन् ।
जेनजी आन्दोलनदेखि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन हुँदै फागुन २१ सम्मको निर्वाचनसम्म उनी सत्ता-शक्तितिर लोभिएको देखिएन । उनी सडकमै रहेर निरन्तर प्रश्न गरिरहिन् ।
कार्कीको चुनावी सरकारमा मन्त्रीको प्रस्तावदेखि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने प्रस्तावसम्म नआएको होइन उनलाई । जेनजी आन्दोलनसँग सरोकारै नभएकाहरु चोला फेर्दै मन्त्री बनिरहेका थिए । बालेन्द्र शाहले देश विकास पार्टी अगाडि बढाउन साथ खोजेकै थिए ।
बालेन्द्र र रविको मिलनपछि जेनजी आन्दोलनमा ‘जेलब्रेक’ गरेको सभापतिको दल राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनको स्वामित्व लिने चरणमा पुगेको थियो । उनी वरपरकै केही साथीहरू सांसद भएर राजनीतिक यात्रा अगाडि बढाउन दौडधुपमा लाग्दा उनी भने ‘नाइँ’ भनेरै बसिरहिन् ।
किन कसैको प्रस्ताव स्वीकार नगरेको ? उनले सहजै भनिन्, “मैले सडक छाड्ने बेला भएको छैन । मैले समाज बुझ्नै बाँकी छ ।”
फागुन २१ पछि जेनजी आन्दोलनका समर्थक, आन्दोलनसँग कुनै साइनो नै नभएका अनि मौका हेरेर आन्दोलनको पक्ष/विपक्ष दुवैतिर लागेका कोही सांसद भए त कोही मन्त्री । तर, उनी अहिले पनि सडकमै छिन् ।
जेनजी आन्दोलनको बलमा बनेको सरकारको व्यवहारबारे विरोध गर्न सडकमा जाँदा गाली खाइन्, तर उनी अझै सडक छाड्ने मुडमा देखिइनन् । वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँगै उनमा केही संशय अनि केही आशा दुवै देखियो । अन्य तन्नेरी झैँ अब अगाडिका दिनमा कसरी काम गर्ने होला ? भन्ने दोधारमा पनि देखिइन् उनी।
कैलालीको थारुहट आन्दोलन देखेकी रक्षा
कैलाली जिल्ला, जानकी गाउँपालिकामा जन्मेकी हुन् रक्षा । २०५६ सालमा उनी जन्मिँदा देशमा माओवादीको सशस्त्र सङ्घर्ष चर्किन थालिसकेको थियो । पतञ्जलि विद्यालयमा कक्षा पाँचसम्म पढेकी रक्षाले २०७२ मा युनाइटेड एकेडेमीबाट एसएलसी दिइन् । बुबाले सानोतिनो व्यापार गर्ने, आमा स्कुलमा पढाउँछिन्।
उनमा राजनीतिक चेत भर्ने काम थरुहट आन्दोलनले गरेको थियो । २०७२ असोजमा संविधान जारी हुनुभन्दा अघि कैलालीको टीकापुरमा थरुहट आन्दोलन भयो । थरुहट आन्दोलन हुँदा रक्षा घरमै थिइन् । पहाडी र थारूहरूको मिल्ती नजिकबाटै देखेकी रक्षाले त्यो बेला किन आन्दोलन भयो भन्नेबारे नियाल्न पाइन् ।
उनको नजिकै रहेको थारूहरूको घर पहाडी समुदायले जलाउन खोजे, पहाडी मूलकाहरूको घर थारूहरूले जलाउन खोजे । नेता र आन्दोलनकारीले घर जलाउन खोजे पनि थारू र पहाडीले एकअर्काको घर जोगाए ।
“जुन प्रकारको डर र भय त्यो बेला भएको थियो, म कहिल्यै पनि बिर्सन सक्दिनँ,” रक्षाले भनिन्, “तर गाउँमा भने पहाडी र थारू समुदायबीच बेमेल थिएन । राज्यले गरेको विभेदले त्यो विद्रोह भएको थियो भन्ने मैले बुझेँ ।”
टीकापुर आन्दोलनबारे अहिले पनि एकमत देखिन्न । राष्ट्रिय राजनीतिसमेत प्रभावित भएको यो आन्दोलनलाई हकको लडाइँका रूपमा हेर्ने समूह पनि छ अनि यसलाई हिंसाको चरम रूपमा हेर्ने समूह पनि छ ।
तर रक्षा टीकापुरमा भएको आन्दोलनलाई सामाजिक आन्दोलन मान्छिन् । आन्दोलनमा जसरी अपराधीकरण भयो, यसमा भने उनलाई चित्त बुझेको रहेनछ ।
“हुन त रेशम चौधरीले आममाफी लिएपछि उहाँले अपराध स्वीकारेको भयो,” रक्षाले भनिन्, “त्यो खासमा स्वाभाविक सामाजिक आन्दोलन थियो ।”
टीकापुरको आन्दोलन सकियो, रक्षा पनि ११ र १२ काठमाडौँमा पढ्ने भइन्। ट्रिनिटीमा विज्ञान सङ्कायमा पढेकी रक्षाले स्नातक तहमा सोसल वर्क विषय पढिन् । स्नातकोत्तरचाहिँ जेन्डर स्टडिजमा गरिन् । अहिले शोधपत्र लेखिरहेकी रक्षाले राज्यको व्यवहारलाई सामाजिक र लैङ्गिकताको दृष्टिकोणबाट नियालिरहेको बताइन् ।
“समाजमा हुने जातीय र लैङ्गिक विभेद नजिकैबाट देखियो,” रक्षाले भनिन्, “त्यतिबेला पनि क्रान्तिकारी गीत सुन्थेँ, रगत सबैको रातो हुन्छ, विभेद किन भन्ने मलाई त्यतिबेला लाग्थ्यो । पढाइ र सामाजिक आन्दोलनहरूले विभेदको चुरो बुझ्न सहयोग गर्यो।”
रक्षालाई माओवादी सशस्त्र सङ्घर्षका बेलाका गीतहरूले अझै पनि क्रान्तिका लागि आह्वान गरे झैँ लाग्ने रहेछ । भुइँ मान्छेका गीत, महिला मुक्तिका गीतले उनलाई छोइहाल्ने रहेछ ।
काठमाडौँले अझै फराकिलो बनायो
रक्षा काठमाडौँमा स्नातक तह पढ्न थालेपछि सामाजिक आन्दोलनहरूमा गइरहिन् । २०७५ सालमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाविरुद्ध भएको आन्दोलनमा सहभागी भइन् । आन्दोलनले उनलाई नागरिक समाजका अगुवाहरूसँग भेटघाट त गरायो नै, संरचनागत विभेद भोगेका महिला तथा दलितबारे थप बुझ्न सहयोगसमेत गर्यो ।
“सुदुरपश्चिममा छँदा म सीमित घेरामा थिएँ, यहाँ आएपछि ‘बबल’ (साँघुरो घेरा) मा रहेको म खुला क्षेत्रमा गएजस्तो भयो । समाजमा भएका अनेक व्यक्तिसँग साक्षात्कार गर्न सिकायो,” रक्षाले भनिन्, “काठमाडौँमा औपचारिक मात्रै होइन, अनौपचारिक तरिकाले राज्य शक्तिले भुइँमान्छे अनि सुदूरपश्चिमलाई गरेको बेवास्ता नजिकैबाट चियाउन पाएँ । सुदूरपश्चिमका नागरिकले तिर्ने करको दर र काठमाडौँका नागरिकले तिर्ने कर बराबर तर विकासमा किन विभेद ? मैले यी कुराहरूको प्रश्न काठमाडौँ नै आएपछि गर्न सिकेँ ।”
उनको क्षेत्रका धेरै पुरुषहरू वैदेशिक रोजगारीका लागि भारत जान्छन् । डोटी, बैतडीतिरकाहरू भारतको उत्तराखण्डतिर जान्छन् । तलतिरका लखनउ, बनारस, हरिद्वारतिर जान्छन् । सुदुरपश्चिममा कामको अभावले नै युवा भारततिर लागेका थिए । तर काठमाडौँमा पनि काम त पाइने रहेछ । रित्तो सुदूरपश्चिम अनि भरिभराउ काठमाडौँ देखेर उनी अचम्ममा परिन् ।
“हाम्रोतिर स्कुलमा बस्ने बेन्च पनि छैन । यहाँ त सबै सुविधा रहेछ । यो देखेर मलाई कहिलेकाहीँ त डाहा नै लाग्थ्यो,” रक्षाले भनिन् ।
यस्तै सामाजिक विभेद देखेर उनी बिस्तारै सडकतिर देखिन थालिन् । सडकबाट राज्यसत्तालाई प्रश्न गर्नुपर्छ भन्ने चेत भरिँदै गयो उनमा । तर उनी कुनै राजनीतिक दलसँग आबद्ध भने भइनन् । विवेकशील नेपाली दलका संस्थापक ‘उज्ज्वल थापा फाउन्डेसन’मा भने काम गरिन् ।
रक्षालाई कतिपयले विवेकशीलसँग आबद्ध थिइन् पनि भन्छन् । तर उनी अहिलेसम्म कुनै दलमा आबद्ध नभएको ठोकुवा नै गर्छिन् ।
“उज्ज्वल थापा फाउन्डेसनमा काम गर्दा उज्ज्वल दाइ बितिसक्नुभएको थियो । म दलगत गतिविधिमा लागिन पनि । वैचारिक रूपमा म लोकतान्त्रिक हुँ । तर हालसम्म कुनै पार्टीको सदस्यता लिएकी छैन । भविष्यमा कुन दलसँग जोडिन्छु भनेर निर्णय पनि गरिसकेकी छैन,” उनले भनिन्।
अब उनको आन्दोलन यात्रातर्फ नै फर्किऔँ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्या विरुद्धको आन्दोलनपछि रक्षा कोभिडको बेला भएको ‘इनफ इज इनफ’, मिटरब्याज पीडितको आन्दोलन, सहकारीपीडितको आन्दोलन, निर्मला कुर्मीहरूको हत्या विरुद्ध गरेको आन्दोलन अनि उखु किसानहरूको आन्दोलनमा जोडिइन् ।
बानेश्वरको के एन्ड के कलेजमा पढेकी रक्षा पुकार बमले चलाएको अभियानमा पनि जोडिइन् । कोभिडको बेला उनी अछामसम्म पुगिन् । किताब पढ्न रुचाउने उनले जब सरुभक्तको ‘पागलबस्ती’ पढिन्, त्यहाँका पात्र चित्रणले उनलाई धेरै छोयो । भारतीय पत्रकार भाषा सिंहले लेखेको ‘शाहीन बाग’ पुस्तकले भारतमा नागरिकता संशोधन ऐन विरुद्ध भएको आन्दोलनको मानवीय, सामाजिक र राजनीतिक पक्ष बुझायो ।
विशेषगरी महिलाहरूको नेतृत्वमा भएको शान्तिपूर्ण प्रदर्शन, उनीहरूको साहस, एकता र लोकतान्त्रिक अधिकारप्रतिको प्रतिबद्धता बुझ्न पाइन् ।
“कतिपय किताबले 'तिमी बोल किनकि तिम्रो जिब्रो अहिलेसम्म तिम्रै हो' भन्ने कुरा सिकाउँछन्,” रक्षा भन्छिन्, “स्वतन्त्रता र लोकतन्त्रप्रति लेखिएका किताबहरूले मलाई तान्छन्।”
व्यक्तिगत स्वतन्त्रताकी पक्षपाती
जेनजी आन्दोलनको माग सुशासन र जवाफदेही सरकार थियो । तर पहिलो दिन राज्य पक्षबाट अनि दोस्रो दिन गैरराज्य पक्षबाट भएका हिंसात्मक घटनाले एजेन्डै नभएको विषयतिर आन्दोलन मोडियो । प्रधानमन्त्री रहेका केपी शर्मा ओली राजीनामा दिएर आफ्नै सरकारी निवासबाट सेनाको हेलिकोप्टरमा भाग्नुपर्नेसम्मको अवस्था आयो ।
संसद् जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालतसम्म जल्यो । कार्कीको नेतृत्वमा नागरिक सरकार बन्यो । उनी जेनजी फ्रन्टकी संयोजक बनिन् । निर्वाचन भयो । बालेन्द्र शाह संसद्मा शक्तिशाली बनेको दलको शक्तिशाली प्रधानमन्त्री बने ।
यो बिचमा पनि खबरदारी गर्ने उनको जिम्मेवारी भने बदलिएन । प्रधानमन्त्री बालेन्द्र शाहले संविधान संशोधनको गृहकार्यको जिम्मेवारी आफ्ना राजनीतिक सल्लाहकार असिम शाहलाई दिए । त्यही बेलामा असिमले ६ वर्षअघि ‘राजा आऊ देश बचाऊ’ लेखेको स्टाटस भाइरल भयो ।
उनको मनमा चिसो पस्यो । अनि जेनजी फ्रन्टको तर्फबाट संविधानको प्रस्तावना नचलाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, पूर्ण प्रेस स्वतन्त्रतालगायतका अधिकारहरू नचलाउन सचेत गराउँदै चलाए आन्दोलन गर्ने चेतावनी दियो ।
रक्षाले ‘व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र अक्षुण्ण हुन्, यी दुई कुरामा सम्झौता गर्न सकिन्न’ भन्ने बुझेदेखि उनी यसमा प्रतिबद्ध देखिन्छिन्, सुनिन्छिन् ।
यी दुई विषयमा यति धेरै मोह किन ?
रक्षाले भनिन्, “व्यक्तिगत स्वतन्त्रताबिना पूर्ण त कसरी भइन्छ ?”
उनलाई केही सामाजिक मुद्दाहरूमा कम्युनिस्ट विचारधारा ठिकै लाग्ने रहेछ । पूर्ण कम्युनिस्ट विचारधाराले बहुलता अस्वीकार गर्ने अनि बहुलता नभए व्यक्तिगत स्वतन्त्रता नहुने भएकाले उनी लोकतान्त्रिक विचारधाराप्रति आकर्षित भएकी रहिछिन् ।
जेनजी आन्दोलनको जग त्यही लोकतान्त्रिक विचारधारामाथि तत्कालीन सरकारले लगाएको अङ्कुश नै हो भन्ने उनको निष्कर्ष छ ।
उनको विश्लेषणमा यदि तत्कालीन ओली सरकारले सामाजिक सञ्जाल निषेध नगरेको भए यो विद्रोह नहुन पनि सक्थ्यो । राज्यले डिजिटल युगमा हुर्किरहेको पुस्ता जसले त्यहीँबाट आम्दानी गर्छ, त्यहीँबाट संसारसँग जोडिएको छ, त्यो नै बन्द गरिदिएपछि त्यो समूह विद्रोही भयो र सत्ता नै उलटपुलट भयो ।
“सामाजिक सञ्जाल बन्द नभएको भए भ्रष्टाचारविरोधी आन्दोलन त हुन्थ्यो तर जुन तहको जनसागर उर्लियो त्यो नउर्लिन पनि सक्थ्यो,” रक्षाले भनिन्, “सत्तालाई 'म्युजिकल चेयर' बनाएर घुसखोरी र भ्रष्टाचार र तानाशाही पारामा मग्न सरकारलाई धक्का दिन जरुरी नै थियो । भ्रष्टाचारमा मग्न पनि हुने, बोल्ने बाटो पनि बन्द गरिदिएपछि त विद्रोह हुने नै भयो।”
ट्रमाटाइज्ड बनाउने भदौ २३
नेपाली राजनीतिक आन्दोलनको इतिहासमा भदौ २३ र २४ गते दर्ज भइसकेको छ । र, त्यो आन्दोलनको एक बलियो सहभागी रक्षा हुन् भन्ने पनि स्थापित भइसक्यो । यसअघि भएका सामाजिक आन्दोलनमा सहभागी भएकीले विरोध प्रदर्शनमा प्रहरीले गर्ने व्यवहारबारे उनी जानकार थिइन् ।
त्यसैले रक्षाले पहिला नै माइतीघर मण्डलामा आन्दोलन शान्तिपूर्ण बनाउन फूलसम्म नटिप्न, नभाँच्न अनि सडक फोहोर नगर्न सम्झाएकी थिइन् । बिजुलीबजार पुगेपछि उनले बल्ल अथाह भिड देखिन् । उनको मनमा लाग्यो- ‘कतै यो भिड अनियन्त्रित भयो भने !’ तर शान्तिपूर्ण हुने सम्भावना पनि थियो नै ।
उनको मनमा जे शङ्का थियो त्यही भयो । उनले फूल पनि नभाँच्न आग्रह त गरिन्, तर त्यही भिडमा मिसिएकाहरूले प्रहरीको ब्यारिकेड नै भाँचिदिए । संसद्को पर्खालमा भ्वाङ पारियो । संसद् भवनभित्र छिर्न थाले ।
गोली चल्न थाल्यो । शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीहरू एकपछि अर्को गोली लागेर मारिए । रक्षाको मनमा ज्वाला दन्कियो ।
“२३ गते जब त्यत्रा व्यक्तिको हत्या भयो, मलाई त उकुसमुकुस भयो । राज्यले गरेको बर्बर दमनको विरुद्ध मैदानमा उत्रिन तयार भएँ,” रक्षाले भनिन्, “२४ गते बिहानै संसद् भवन त्यसैकारण पुग्यौँ।”
२४ गते आन्दोलनको आक्रोश मात्र लिएर आएन, ध्वंस पनि सँगै लिएर आयो। अकल्पनीय रूपमा सत्ता मात्र बदलिएन, धेरै संरचनाका स्वरूपहरू पनि बदलिए । त्यहीमध्येको एक थियो- सिंहदरबार, जुन जल्यो।
त्यही जलेको सिंहदरबार अगाडि खिचेको रक्षाको तस्विरले उनलाई पनि सिंहदरबार जलाउनेहरूको सूचीमा पार्ने प्रयास भयो । सिंहदरबार जलाएर उत्सव मनाउने भन्दै आलोचना भयो ।
उनले सार्वजनिक रूपमै भदौ २४ को ध्वंसको विरोध गरिन् अनि निष्पक्ष छानबिनको माग गरिरहेकी नै छिन् । उनले त्यो तस्विरबारे सार्वजनिक रूपमै आत्मालोचनासमेत गरिसकेकी छिन् ।
अनि त्यो तस्बिर ?
“तत्कालीन सरकारको शैलीको विरोध गर्नु भनेको सिंहदरबार जलाएकोमा समर्थन होइन । जनताले चुनेर पठाएका प्रतिनिधिप्रति हाम्रो प्रतिरोध थियो । सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा जुन काम गरियो त्यो ठीक थिएन । व्यक्तिको सम्पत्ति जलाउनु पनि ठीक थिएन ।”
संविधानको ‘रक्षा’मा दृढ रक्षा
फागुन २१ मा चुनाव भयो। जेनजी आन्दोलनको स्वामित्व लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्यायो। तर सरकार बनेपछिका गतिविधि जेनजी आन्दोलनको स्पिरिटअनुकूल देखिँदैन।
पहिलो त पारदर्शिताको वकालत गरेको थियो जेनजी आन्दोलनले। मिडियाबाट त बाहिर आयो तर अहिलेसम्म पनि औपचारिक रूपमा जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदनसमेत सार्वजनिक भएको छैन।
भदौ २३ को घटनाबारे आयोगको सुझाव कार्यान्वयनमा लैजाने प्रयासमा छ सरकार। केपी ओली अनि रमेश लेखक पक्राउ गरेर अनुसन्धान गरे पनि दुवै अदालतको आदेशमा रिहा भइसके। प्रहरीले अनुसन्धान जारी रहेको दाबी गरिरहेको छ। तर भदौ २४ बारे प्रतिवेदन त मौन छ नै, सरकार पनि मौन छ। उसले समिति बनाउने निर्णय गरे पनि त्यो कार्यान्वयन भएको छैन।
“यो प्रतिवेदनले भदौ २३ गतेको विवरण त राखेको छ, २४ गतेको विध्वंस कसले मच्चायो उल्लेख गरेको छैन, त्यसैले सरकारले अर्को जाँचबुझ आयोग बनाउने भनेको होला,” उनले भनिन्, “दुवै दिनका दोषीलाई कारबाही होस् भन्ने मलाई लाग्छ।”
फागुन २१ को म्यान्डेट कस्तो आउला ? लगभग एक खालको खाका त देखिइसकेको थियो । बालेन शाहको क्रेजले पुराना दलले यसपटक सत्ता नपाउने दृश्य मतदान अगाडि नै देखिएको थियो। तर झन्डै दुईतिहाइ जनमत स्वयं बालेनकै लागि सरप्राइज थियो।
अनि रक्षालाई ?
उनी पनि रास्वपाको यो तहको बहुमत आउँछ भन्ने नसोचेको बताउँछिन् । जुन परिणाम आयो, यो संविधानको रक्षा र विकासको पक्षमा आएको उनको बुझाइ छ ।
“यो सरकारले विकासको सन्दर्भमा एक्सन ओरिएन्टेड भएर काम गर्न सक्छ । तर स्वतन्त्रता र लोकतन्त्रको मूलभूत कुरामा के गर्छन् भन्नेमा ढुक्क हुन सक्ने अवस्था देखिँदैन,” उनले भनिन्, “दुई तिहाइका सरकार निरङ्कुश भएका धेरै उदाहरण छन् । त्यसकारण पनि सडक र प्रतिपक्ष दुवै बलियो हुनुपर्छ ।”
अन्त्यमा हामीले उनलाई पुनः राजनीतितिर फर्कायौँ । दलगत रूपमै सक्रिय राजनीतिमा कहिले आउने त ?
“राजनीतिमा त आइएला तर अहिले सत्तालाई प्रश्न गर्न र आफूले धेरै कुरा थाहा पाउन पनि म सडकमै रहन्छु,” रक्षाले भनिन्, “पाँच वर्षपछि ठिकै हुन्छु भन्ने सोचेकी छु।”
जेठ २०, २०८३ बुधबार १६:३२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।