बनेपाको होल्डिङ सेन्टरमा भोकोपेट भेटिएकी एक महिने सुत्केरी अञ्जली, न पोसिलो खाना, न न्वारन
काभ्रे: सुत्केरी भएको एक महिना बितिसक्दा समेत १८ वर्षीय अञ्जली कुमारीले छोरीको न्वारन गर्न पाएकी छैनन्। सरकारले थापाथली बस्तीमा डोजर चलाएपछि घरबारहीन बनेकी उनी आफ्नो परिवारसँग नवजात शिशुलाई लिएर अहिले काभ्रेको बनेपास्थित रेडक्रसको भवनमा आश्रय लिएर बसिरहेकी छिन्। सुरक्षाकर्मीको बल प्रयोग गरेर सुकुमबासी बस्तीबाट हटाएपछि सरकारले उनीसँगै उनको परिवारलाई बालाजुको विभिन्न होटल हुँदै बनेपा पुर्याएको थियो।
सरकारले वैशाख १२ गते बिहानै बस्तीबाट उठीबास लगाउँदा उनी नौ महिनाकी गर्भवती थिइन्। त्यही दिन उनीहरूलाई बालाजुस्थित एक गेष्ट हाउसमा लागेर राखियो। १३ गतेदेखि उनलाई प्रसव व्यथा लाग्न सुरु भयो। वैशाख १४ गते उनले प्रसूति गृहमा छोरीलाई जन्म दिइन्।
“घर भत्काउने बेला के भएर गाह्रो भयो भन्ने थाहा भएन। होटल पुगेपछि झन् गाह्रो हुँदै गयो। १३ गते राति धेरै नै गाह्रो भएपछि हामी १४ गते बिहान हस्पिटल गयौ,” बनेपाको होल्डिङ सेन्टरमा रहेकी उनले उकेरासँग भनिन्, “अनि अप्रेसन गर्यो। छोरी भयो। धेरै गाह्रो भयो। अहिले पनि बेलाबेला घाउ दुख्छ।”
अञ्जलीको उमेर सानै छ। उनको शरीर पनि निकै कमजोर देखिन्छ। नवजात शिशुको तौल पनि धेरै छैन। त्यै भएर अप्रेसन गर्न परेको उनले बताइन्। अप्रेसन गरेको चार दिनसम्म उनी प्रसूति गृह नै बसिन्। पछि फर्किएर सरकारले राखेको होटलमै पुगिन्।
होटलमा हुँदा एकै कोठामा नौ जनासँग उनको बसाइ रहेको थियो। सानो कोठामा कोचिएर बस्न परे पनि एक पटक मासु र अण्डा खान पाइन्। एकाएक बालाजुको होटेलबाट निकालेर गाडीमा राखेर रातारात साँगा कटाइयो।
अप्रेशनको आलो घाउ बोकेर उनी एक सय दश जनाको टोलीसँगै बसबाट वीपी हाईवे हुँदै तीन घण्टापछि बनेपाको होल्डिङ सेन्टर पुगिन्। उनीहरूको परिवार सहितलाई रेडक्रस भवनको तेस्रो तलामा रहेको एउटा कोठामा राखियो।कोठामा चारवटा सानो पलङ छ। उक्त पलङमा दुई जनासम्म सुत्ने गरेको अञ्जलिको आमा इसो महतोले बताइन्।
‘बनेपा आएदेखि भरपेट खान पाएको छैन’
सुत्केरी छोरीलाई र नयाँ नातिनीलाई स्याहार्ने काम अञ्जलीकी आमा इसोले गरिरहेकी छिन्। भुइँतल्लामा रहेको क्यान्टिनबाट अञ्जलिको लागि खाना माथि नै ल्याइदिने गर्छिन् उनी। घण्टी बजेपछि खाना दिने समय बाहेक अन्य बेला क्यान्टिन बन्द हुने भएको कारणले इसोले अञ्जलिको लागि बिहानै अलि बढी खाना बोकेर माथि लग्ने गर्छिन्।
तर उनको अरू सन्तान पनि सानै छन्। भोक लाग्यो भनेर सुत्केरीका लागि जोगाएको खाना उनीहरूले दिउँसै खाइदिँदा धेरै पटक अञ्जलीले पेटभरी खान पाएकी छैनन्। भाइ बहिनीले नखाँदा बचेको खानेकुरा भने दिउँसो अञ्जलीले खान पाउँछिन्। कोठामा खाना तताउने व्यवस्था छैन। सुत्केरी ज्यान भएपछि उनी चिसै खाना खान बाध्य छिन्।
होटलमा अन्डा खान दिएको थियो। बनेपामा आए पछि उनले सुत्केरी ज्यानका लागि आवश्यक पोसिलो खाना पाएकी छैनन्। जे दियो त्यही खान बाध्य छिन्।
“यहाँ काउली, भिण्डी अनि आलु मात्र दिन्छन्। सुत्केरीमा त्यस्तो खानु हुँदैन भन्छन्। त्यो पनि पेटभरी पाइँदैन। त्यो नखाए तर अरू के खानु,” उनले भनिन्।
लगभग एक महिनासम्म पोसिलो खाना पाइनन्। उनले श्रीमान् र बाबुले होल्डिङ सेन्टर नजिकै ढुंगा बिछाउने काम पाएँ। अनि बल्ल उनले केही दिन माछा मासु खान पाएनन्।
“मेरो दूध धेरै आएको छैन। बच्चाको लागि दूध र डाइपर महँगो छ। आज मात्र नौ सय पचपन्नको दूधको बट्टा किनेको छ” उनले भनिन्।
अञ्जली घरकी माइली सन्तान हुन्। उनी भन्दा मुनी अझै चार जना स-सानो भाइ बहिनी छन्। थापाथलीमा हुँदा इसो पनि ज्यामी काम गर्न जान्थिन्। तर अहिले सुत्केरी छोरी र नातिनीलाई समय दिन पर्दा उनले काम गर्न पाएकी छैनन्।
उकेराकर्मी होल्डिङ सेन्टरमा पुग्दा इसो आफ्नो सानो नातिनीलाई पोको पारेर बोतलबाट दूध खुवाइरहेकी देखिन्थिन्।
इसोका अनुसार थापाथलीमा उनीहरूको पाँचवटा कोठा भएको टहरा थियो। अन्य सन्तान नजिकैको गुह्येश्वरी विद्यालयमा पढिरहेका थिए। अहिले सबैको पढाई छुट्यो। सबै होल्डिङ सेल्टरमा अलमलिएर बसिरहेका छन्।
“यहाँ त बच्चाको नामकरण गर्न पनि पाइएन। कता/कता लान्छ कहाँ गर्ने? छैठिनमा गर्न पर्थ्यो। गर्न पाएन। तर हामीले आफै नाम राखिसक्यौ, प्रिया कुमारी” इसोले भनिन्।
‘हामीलाई थापाथली नै छोडिदिनु’
दुई दशक अगाडि धनुषाबाट उनीहरू काठमाडौँ पसेका थिए। उनको जेठो सन्तान बाहेक बाँकी सबै सन्तान काठमाडौँमै जन्मिए। उनीहरूकै ठुलो परिवारमा ज्वाइँ समेत सँगै बसिरहेका छन्।
उनीहरूको टहरा भत्काउन प्रहरीको दलबलसहित डोजर आउँदा उनीहरूले टहराको केही सामान मात्र निकाल्न भ्याएका रहेछन्। पानी परेर ती पनि भिजेर बिग्रिएको इसोले बताइन्। उनीहरूको सामान रङ्गशालामा लगेर राखे। सामान त्यहाँ छ छैन भन्नेसम्म थाहा रहेनछ।
एकातिर स्कुल जाने सन्तानको पढाई छुटिरहेको छ। अर्कोतिर सुत्केरी छोरी छिन्। होल्डिङ सेन्टरमा कति समय राख्ने हो थाहा छैन। न होल्डिङ सेन्टर छाडेर हिँड्न सकेका छन्, न त ढुक्कले बस्न नै।
“सरकारले कहिलेसम्म यहाँ राख्छ, कहाँ लान्छ केही जानकारी छैन,” उनी भन्छिन्, “ यसरी अलपत्रै पार्नु भन्दा त बरु हामीलाई थापाथली नै जान दिए पनि हुन्छ।”
जेनजी आन्दोलनको जगमा बनेको सरकारको 'डोजर' राजनीति : बागमतीमा वृद्धको शव भेटियो, उठिबास हुने चिन्ताले युवकले गरे आत्महत्या
जेठ १९, २०८३ मंगलबार १६:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।