शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब विनियोजन : गेटामा एमबीबीएस पढाइ सुरु गरिने र खुला विश्वविद्यालय विदेशबाट पनि पढ्न मिल्ने

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब विनियोजन : गेटामा एमबीबीएस पढाइ सुरु गरिने र खुला विश्वविद्यालय विदेशबाट पनि पढ्न मिल्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शैक्षिक पूर्वाधारको विकास, गुणस्तरीय उच्च शिक्षा र प्राविधिक शिक्षामा पहुँच विस्तारलाई विशेष प्राथमिकता दिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा शिक्षा क्षेत्रको समूचित विकासका लागि कुल २ खर्ब १८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेट वक्तव्यअनुसार सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न र भौतिक पूर्वाधार सुदृढीकरणका लागि थप १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी, मुलुकका प्रमुख शैक्षिक संस्थाहरूको प्रशासनिक तथा प्राज्ञिक कार्य सम्पादनलाई चुस्त बनाउन उनीहरूलाई वित्तीय स्वायत्तता (फाइनन्सियल अटोनोमी) प्रदान गर्ने नीति बजेटले लिएको छ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य र चिकित्सा शिक्षामा महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको कैलालीको गेटामा आगामी शैक्षिक सत्रदेखि एमबीबीएस तहको अध्ययन-अध्यापन औपचारिक रूपमा सुरु गरिने घोषणा गरिएको छ।

यस व्यवस्थाले सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूलाई घरआँगनमै चिकित्सा शिक्षा प्राप्त गर्ने अवसर मिल्नेछ भने त्यस क्षेत्रको स्वास्थ्य सेवा प्रवाहमा समेत ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

सूचना प्रविधिको उपयोग गर्दै शिक्षालाई समयसापेक्ष र पहुँचयोग्य बनाउन नेपाल खुला विश्वविद्यालय का पाठ्यक्रम तथा शैक्षिक कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिने भएको छ।

नयाँ व्यवस्थाअनुसार अब विदेशमा रहेका नेपाली नागरिक तथा अन्य इच्छुक विद्यार्थीहरूले समेत अनलाइन वा दूरशिक्षा माध्यमबाट नेपाल खुला विश्वविद्यालयमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ।

जेठ १५, २०८३ शुक्रबार १७:२७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।