जेठको घाममा कलेजको चक्कर

जेठको घाममा कलेजको चक्कर

काठमाडौँ : परीक्षा सकिएको २९ दिनमै माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै यतिबेला राजधानीका प्लस टु पढाउने शिक्षण संस्थाहरूमा नयाँ भर्नाको चहलपहल थामिएको छैन।

नतिजा प्रकाशनको गतिसँगै शिक्षण संस्थाहरूले भर्ना प्रक्रिया अगाडि बढाएपछि विद्यार्थी र अभिभावकहरू आफ्नो रुचि र क्षमता अनुसारको उत्कृष्ट कलेजको खोजीमा मध्य जेठमा पनि सक्रिय नै देखिए।

मध्य जेठ आइपुग्दा काठमाडौँका अधिकांश नाम चलेका शिक्षण संस्थाहरूमा भर्ना प्रक्रिया करिब-करिब अन्तिम चरणमा पुगिसकेको छ। धेरैजसो कलेजहरू त नयाँ शैक्षिक सत्रका लागि कक्षा सञ्चालनको आन्तरिक तयारीमा समेत लागिसकेका छन्। 

तर, कलेज भर्ना हुने र उपयुक्त विकल्प खोज्ने विद्यार्थीहरूको उत्साह र सङ्ख्या भने अझै घटेको देखिएन। नयाँ भर्नाका लागि कलेजहरू पुग्ने अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति अहिले पनि उत्तिकै देखिन्छ।

के हेर्दैछन् विद्यार्थी र अभिभावक?

कलेज छनोटका क्रममा विद्यार्थी र अभिभावकहरू निकै सचेत र सक्रिय देखिए। राजधानीका ब्रिटिश कलेजसहितका विभिन्न कलेजहरूमा उकेराकर्मी पुग्दा उनीहरूले मुख्य तीनवटा पक्षलाई बढी प्राथमिकता दिइरहेको देखियो।

१-विद्यार्थीको रुचि र शैक्षिक वातावरण: विद्यार्थी कुन विषय पढ्न चाहन्छन् र कलेजको पढाइको वातावरण कस्तो छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको छ।

२-शिक्षण संस्थाको ट्र्याक रेकर्ड: विगतका वर्षहरूमा उक्त कलेजको बोर्ड परीक्षाको नतिजा कस्तो रह्यो, अनुशासन र अतिरिक्त क्रियाकलापमा कलेजको अवस्था कस्तो छ भन्ने कुरा अभिभावकहरूले गम्भीरतापूर्वक बुझिरहेको देखियो।

३-आर्थिक क्षमता र शुल्क संरचना: गुणस्तरीय शिक्षासँगै आफ्नो आर्थिक क्षमताले धान्न सक्ने शुल्क निर्धारण गरेका शिक्षण संस्थाहरू अभिभावकको रोजाइमा परिरहेका छन्। कलेजहरूले उपलब्ध गराउने छात्रवृत्ति बारे पनि सोधपुछ गर्नेहरूको लाम ठुलै देखियो।

 

जेठ १३, २०८३ बुधबार १५:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।