१६० यात्रु बोकेको एयर इन्डियाको इन्जिनमा आगो लाग्यो
एजेन्सी : भारतको बेंगलुरुबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानको इन्जिनमा आगो लागेको छ।
बिहीबार साँझ भएको घटनाका क्रममा विमानमा चालक दलका सदस्यसहित १६० जना यात्रु सवार थिए। इन्जिनमा आगो लागे पनि विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।
घटनाका सम्बन्धमा एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दिल्लीमा विमान अवतरण गर्ने अन्तिम प्रक्रियामा रहँदा ककपिटका चालक दल (क्रू) ले एउटा इन्जिनमा आगो लागेको संकेत पाएका थिए। पछि परीक्षणका क्रममा सो संकेत सही भएको पाइयो।’
संकेत मिल्नासाथ चालक दलले तुरुन्तै सबै मानक सञ्चालन प्रक्रिया पालना गर्दै विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराएका थिए।
विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेका र उनीहरू सामान्य तरिकाले विमानबाट बाहिर निस्किएको एयर इन्डियाले जनाएको छ।
एयर इन्डियाले यस घटनाको छानबिन तत्काल सुरु गरिसकेको बताएको छ। सम्बन्धित नियामक निकायका अधिकारीहरूसँगको समन्वयमा घटनाको विस्तृत अनुसन्धान गरिने कम्पनीले जनाएको छ।
जेठ ८, २०८३ शुक्रबार ०९:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।