डोजरको त्रासले सम्झनाका सन्तानको मनोविज्ञानमै चोट : 'बालेन सरकार भन्यो भने डराउँछन्'
काठमाडौं : दक्षिणकाली नगरपालिकाको चाल्नाखेलस्थित एउटा खोच, जहाँ हावामा बंगुर फार्मको तिखो दुर्गन्ध मिसिएको छ र शरीरभरि झिँगाहरू भन्किरहेका छन्। त्यही फार्मको एउटा कुनामा १४ वर्षीय बौद्धिक अपाङ्गता भएका छोरालाई काखमा राखेर सम्झना तामाङ टोलाइरहेकी छन्।
वैशाख १८ गते बल्खु खोला किनारको ‘जागरण टोल’मा सरकारले डोजर चलाएपछि १३ वर्षदेखिको थातथलो गुमाएको सम्झनाको परिवार करिब दुई सातादेखि बंगुर फार्मको यही टहरोमा बस्न बाध्य छ। घर भत्काइएको चोट त छँदै छ, सुकुमबासी बस्तीमा चलाएको त्यो डोजरको त्रास अहिले पनि ती बालबालिकाको मनोविज्ञानमा र यो अस्थायी बसाइको छटपटीमा प्रस्टै झल्किन्थ्यो।
“घर भत्किएपछि होस नै हरायो। के गर्ने, कहाँ जाने भन्ने नै थाहा भएन। फेरि पानी परेको पर्यो,” आफ्नो घरमा डोजर चलेको दिन सम्झँदै उनले भनिन्, “मेरो त फेरि हिँड्न नसक्ने अपांग बच्चासहित पढ्ने नाबालक छोराहरू छ। उनीहरूलाई लगेर काठमाडौंको अरू कुन ठाउँमा बास माग्न जाने भन्ने नै थाहा नभएपछि हामी व्यवसायको लागि बनाएको यो सानो बंगुर फार्म नै तत्कालको लागि सुरक्षित लाग्यो।”
डोजर आएको दिन बस्ती निकै अस्तव्यस्त बनेको थियो। सोही दिन यही टोलका इन्द्रबहादुर राई बल्खु खोलामा मृत फेला परेका थिए। बुद्ध पूर्णिमाको सार्वजनिक बिदा भएकाले बालबालिकाहरू घरमै थिए। डोजर र प्रहरीको बाक्लो उपस्थितिका बीच घर भत्काइएको दृश्यले आफ्ना सन्तानहरू निकै त्रसित भएको उनले सुनाइन्।
उनका १४ वर्षीय जेठो सन्तानमा बौद्धिक अपाङ्गता छ भने त्यसपछिका दुई सन्तान जुम्ल्याहा हुन्। टाउकोको नसा सुकेका कारण जेठो छोराको शरीरको बायाँ भाग चल्दैन। अन्य बालबालिकाको तुलनामा उनको टाउकोको आकार सानो छ। उनी हिँड्न, बोल्न र सहाराबिना सिधा बस्न समेत सक्दैनन्।
त्रसित सन्तान, अन्योल भविष्य
जन्मिएको ४५ दिनपछि ज्वोरोले थालिएका सम्झनाको जेठो सन्तानलाई अहिले पनि विशेष स्याहार चाहिन्छ। औषधिको आवश्यक परिरहन्छ। उनी पछिका कान्छा सन्तानहरू भने डोजरदेखि तर्सिन थालेका छन्। उनी भन्छिन्, “ठूलो बोल्न सक्दैनन्। तर घर भत्किने समयमा भाइहरू रोएको देखेर उ पनि बेस्सरी रोएको थियो। सानोहरूले कुरा गर्दा बालेन सरकार भन्यो भने पनि नभन्नु न, हामीलाई मन पर्दैन, डर लाग्छ भन्न थालेका छन्।”
बल्खुकै बस्तीमा रहेको सामाजिक संस्थाको सहयोगमा उनको छोराहरू पढिरहेका थिए। जेठो सन्तानलाई समेत संस्थाले नै भैँसेपाटीमा रहेको बौद्धिक अपाङ्गता भएका बालबालिका पढ्ने विद्यालयमा पढाउने गरेको रहेछ। तर धेरै महँगो भएको कारणले उनको पढाइमा निरन्तरता हुन सकेन। सानाहरू भने सातदोबाटो स्थित बोर्डिङ विद्यालयमै पढिरहेका थिए।
बस्तीबाट विस्थापित भएपछि सहयोगी संस्थासँग उनीहरूको सम्पर्क टुट्यो र बालबालिका शिक्षाबाट वञ्चित भए। सरकारी विद्यालयमै भए पनि पढाउने सोचका साथ सम्झना र उनका श्रीमानले बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा दुवै छोराको भर्नाका लागि आधा शुल्क समेत बुझाएका थिए। तर, पछि चाल्नाखेलस्थित बंगुर फार्ममा बस्न जानुपरेको र विद्यालय टाढा भएकाले उनीहरूले भर्नाबापत तिरेको रकम फिर्ता माग्नुपर्यो।
अहिले उनीहरूले चाल्नाखेलकै एक सरकारी विद्यालयमा आफ्ना दुई सन्तानलाई पढ्न त पठाएका छन्, तर बसाइ अस्थायी भएका कारण स्थायी रूपमा भर्ना भने गराउन सकेका छैनन्। व्यवसाय गर्ने उद्देश्यले उनीहरूले २०८२ सालको जेठदेखि लागू हुने गरी यहाँ सानो जग्गा भाडामा लिएका हुन्। बंगुर पालनबाट राम्रो आम्दानी हुने सल्लाह पाएपछि उनीहरूले उत्साहित हुँदै यसमा लगानी गरेका रहेछन्।
तर केही महिना अघि मात्र ३२ वटा बंगुर मरेको सम्झनाले बताइन्। अहिले उनीहरूसँग जम्मा १४ वटा मात्र बंगुर छन्। बंगुरको दाना लिनको लागि उनको श्रीमान् राती दुई बजे ठमेलका होटलहरुमा पुग्छन्। “अब उता घर पनि गयो। यहाँ व्यवसायको पनि यस्तो हालत छ। यही बेलामा हामीलाई फेरि फार्म पनि खालि गर भनिरहेको छ। गरिबलाई दुखले पनि कहिले नछोड्ने रहेछ। अब यही बंगुर फार्ममा समेत बास नपाउने अवस्था आइपर्यो,” सन्तानतर्फ हेर्दै आँखाभरि आँसु पुछ्दै उनले भनिन्।
भाडामा लिएको जग्गा भएता पनि स्थानीय तहले हाल बंगुर पालनमा कडाइ गरेको छ। यता छिमेकीहरू यही विषयमा उजुरी लिएर अदालतसम्म पुगेको छन्। दक्षिणकाली नगरपालिकाले ३५ दिने सूचना जारी गर्नुका साथै माइकिङमार्फत यहाँका बंगुर फार्म र टहराहरू खाली गर्न निर्देशन दिइसकेको छ। सम्झनाको जस्तै यस क्षेत्रमा करिब दुई सय वटा बंगुर फार्महरू छन्।
व्यवसाय सुरु गरेयता उनीहरूले जागरण टोलमा दुई वटा बंगुरको मासु बिक्री गरेका थिए। त्यसबाहेक व्यवसायबाट निरन्तर घाटा बेहोरिरहेका उनीहरू अहिले ठाउँ नै खाली गर्नुपर्ने कठिन अवस्थामा पुगेका छन्। नगरपालिकाले उनीहरूलाई ठाउँ छोड्न आगामी जेठ ११ गतेसम्मको समयसीमा दिएको छ।
‘हामीलाई अपराधी भन्दा बढी घृणा भयो’
“अहिले कोठा पाउन पनि गाह्रो छ। मलाई त झन् अपाङ्ग छोरा भएकै कारण पहिला पनि काठमाडौंमा डेरा नदिएको कारण बस्तीमा बस्न गएको हो,” उनी भन्छिन्, “अहिले त हामीलाई अपराधीभन्दा पनि नराम्रो बनाइयो। बरु चोर, हत्यारालाई पनि यतिबिघ्न घृणा गर्दैन होला। हामीलाई सुकुमबासी भनेर बाटोमा हिँड्दा पनि छिछि दुरदुर गर्छन्। यस्तो हुँदा त फेरि सरकारले नै राखेको होल्डिङ सेल्टरमा जाऊ जस्तो लाग्छ।”
आफ्नो भोगाइ सुनाउँदा सुनाउँदै उनी भावुक भइन्। सेल्टरको दयनीय अवस्थाबारे सुनेका समाचार र त्यहाँ बसिरहेका साथीहरूको अनुभव सकारात्मक नभएकाले उनमा अन्योल छ। सेल्टरमा बस्दा अपाङ्गता भएको छोरालाई झन् कठिनाइ हुने र अन्य सन्तानको पढाइ बिग्रने डरले त्यहाँ जान उनको मनले मानिरहेको छैन।
बंगुर पालन सुरु गर्नुअघि सम्झना बस्तीमै सिलाइको काम गर्थिन् भने उनका श्रीमान् सुरक्षा गार्ड (सेक्युरिटी गार्ड) का रूपमा काम गर्थे। अपाङ्गता भएको सन्तानको हेरचाहका लागि घरमै बस्नुपर्ने बाध्यता भएपछि उनीहरूले व्यवसाय गर्ने भनेर बंगुर पालन रोजेका थिए।
दक्षिण ललितपुरकी स्थानीय सम्झनाको साथीहरूमार्फत चिनजान भएपछि झापाका एक लिम्बू युवकसँग विवाह भएको थियो। विवाहपछि उनी झापा नै गइन्, तर गर्भावस्थामा स्वास्थ्य समस्या देखिएपछि उनी काठमाडौं फर्किइन्। पछि सन्तानको स्वास्थ्य अवस्था जटिल रहेको र नियमित उपचार चाहिने थाहा पाएपछि उनीहरू बल्खुमा बस्न पुगे।
“हामी बसेको ठाउँमा दुइटा खुट्टा नचल्ने दिदी एक्लै बसिरहनु भएको रहेछ। एक जना चिनेको दिदीले उहाँलाई उपचारको लागि अलिअलि खर्च दिनु अनि यही बस्नु भन्नुभएको थियो,” उनी भन्छिन्, “पछि ती दिदीलाई उपचार खर्चसहित घर खर्च दियौं। अनि हामी त्यही नै बसिरहेका थियौं। दुखसुख गरेर पनि हामीलाई त्यो ठाउँ नै स्वर्ग भएको थियो। अहिले अब हामीसँग केही पनि बाँकी रहेन।”
‘सरकारले हाम्रो आत्मा मारिदियो’
झापामा श्रीमानको अंशबण्डामा परेको सानो जग्गा बेचेर उनीहरूले बल्खुको घरमा लगानी गरेका थिए। त्यहाँ ब्लक र नयाँ जस्ताको छाना हालेर तीन कोठाको घर बनाउनुका साथै सामान राख्नका लागि माथि छुट्टै ठाउँ समेत निकालेका थिए। लगानी र मेहेनत परेको त्यही घर अहिले नरहँदा उनीहरूलाई यो सबै सपना जस्तै लागिरहेको छ।
“बनाएको तीन/चार वर्ष मात्र भयो। त्यो बेला त उठाउँदैन भन्ने थियो। तर बालेन सरकारले बल्खु त भत्काउनै भनेर समाचार आयो। आखिर भत्काएर हामी सबैको अलपत्र पारिदियो,” उनी भन्छिन्, “राम्रोसँग छानबिन गर्ने भनेर घर भत्काउनुभन्दा अगाडि नै हाम्रो बस्तीमा आउनुभएको भए त हामी सबै जना खुसी हुन्थ्यौं नि। हामी पनि सधैँ डरमा बाँचिरहनु भन्दा छानबिन गरेर व्यवस्थापन गरिदिउन् भन्नेमै त थियौं। तर सरकारले हामीलाई रुवाएर, हाम्रो आत्मा मारेर अलपत्र पार्ने काम गर्यो।”
घर भत्काइएपछि उनीहरू पुनः बल्खु पुगेका थिए। तर त्यहाँ पुग्दा आफूले दुःख गरेर जोडेका जस्ताका पाताहरू कवाडी संकलकहरूले उठाइरहेको देखे। आफ्नो जायजेथा उजाडिएको त्यो स्थितिमा कवाडीसँग प्रतिवाद गर्ने जाँगर समेत नचलेको उनले सुनाइन्।"
“मर्न बरु सजिलो होला। हामीलाई बाच्न निकै गाह्रो भएको छ। बच्चाहरूको माया लाग्छ। उनीहरूलाई अब हामीले कस्तो भविष्य दिने ? हामी के गर्ने ? यो बेहाल बनाएर सरकार पन्छिने त गर्दैन होला नि ?” प्रश्न तेर्साउँदै उनी रुन थालिन्।
जेठ ५, २०८३ मंगलबार २२:११:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।