विवादमा पर्दा ‘लालीबजार’लाई फाइदा, बहिस्कारले थला पर्यो ‘मालती मङ्गले’

विवादमा पर्दा ‘लालीबजार’लाई फाइदा, बहिस्कारले थला पर्यो ‘मालती मङ्गले’

काठमाडौं : गत वैशाखमा प्रदर्शनमा आएका चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। वैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ र २५ गते एकसाथ रिलिज भएका तीन फिल्म ‘मालती मंगले’,‘लालीबजार’ र गुरुआमाको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको हो। यसमध्ये गुरुआमा र मालती मंगलेको व्यापार निराशाजनक देखिएको छ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको रिपोर्टमा वैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले ४ करोड २२ लाख २३ हजारभन्दा माथि रहेको छ।

यता वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म‘लालीबजार’को ३ करोड ४२ लाख ६१ हजार कलेक्सन गरेको छ। यही फिल्मसँगै प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’को ४४ लाख ७८ हजार छ भने ‘गुरुआमा’को २८ लाख ४४ हजार मात्रै छ।

बहिस्कारको मारमा मालती, प्रचार बन्यो लालीबजार
हलमा प्रदर्शनरत चार फिल्ममध्ये दुई वटा फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’बहिस्कारमा परेका हुन्। गत भदौ आन्दोलनमा सहभागी भएको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’ र गायक रामकृष्ण ढकालको लगानीमा बनेको फिल्म ‘मालती’मंगलले तनाव व्यहोरेका हुन्।

खरानी ग्याङको ट्याग भिराइएका रामकृष्ण ढकाल र स्वस्तिमा खड्काको परिवारको फिल्मलाई बहिस्कारको अभियान नै चल्यो। निर्माता ढकालको फिल्म ‘मालती मंगले’को व्यापारमा बहिस्कारको असर देखिन्छ। दर्शकले उनीमाथि विश्वास गरेको देखिँदैन।

सोही दिन प्रदर्शनमा आएको स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’लाई भने फाइदा भएको देखिन्छ। बहिस्कार मात्र होइन, यो फिल्मलाई वादी समुदायका मानिसले आफ्नो समुदायलाई होच्याएको भन्दै अदालती झमेलामा समेत पारिएको थियो। 

वैशाख १८ गतेबाट प्रदर्शन मिति तोकेको फिल्मले अदालती झमेलाका कारण २५ गतेबाट रिलिज भएको थियो।

विभिन्न आरोप तथा अदालती झमेलामा परेको यो फिल्मको व्यापार अन्यको तुलनामा अग्रस्थानमा नै छ। जेठ २ गते रातिसम्म तीन करोड ४२ लाख ६१ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ। बोर्डको रिपोर्ट अनुसार नौ दिनमा यस फिल्मलाई एक लाख १४ हजार ४६८ दर्शकको साथ पाएको छ। यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् भने कथा पनि उनकै हो।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’वादी समुदायका महिला र धनी गरिबबिचको खाडललाई ऐनामा प्रस्तुत गरेको छ। फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।

सोही दिनबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ले १३ हजार ८९० वटा टिकट गर्न सफल भएको छ। यस फिल्ममा वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको मुख्य भूमिका रहेको छ। फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका छन्। फिल्मलाई पुराना गायक रामकृष्ण ढकालले लगानी गरेका हुन्।

अर्को फिल्म ‘गुरुआमा’ले २८ लाख ४४ हजार ग्रस कमाएको छ। यो फिल्म हेरेका दर्शक आठ हजार ९७४ जना रहेका छन्। बोर्डको रिपोर्ट अनुसार शनिबार रातिसम्म ८ हजार ९ सय ७४ वटा वटा टिकट बिक्री भएका हुन्। ‘गुरु आमा’ शैक्षिक कथावस्तुमा बनेको फिल्म हो। यसमा मिथिला शर्मा, गौरी मल्लसहित पूजा शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसीलगायतको अभिनय छ।

अग्रस्थानमा ‘परालको आगो’, निकै कम ‘गुरुआमा’
हलमा लागेका अधिकांशले आफ्नो लगानी सुरक्षित गर्न सकेका छैनन्। प्रकाश सपुत, सौगात मल्ल, सिर्जना अधिकारी, सुहाना थापा अभिनीत फिल्म ‘परालको आगो’को २ करोड खर्च गरेको भएता पनि लगानी उठाउन अझै २ करोड नै ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ।

तर निर्माण पक्षले यो फिल्मको लगानी उठाएर नाफामा रहेको दाबी गरिरहेका छन्। फिल्मलाई सुशील पोखरेलले लगानी गरेका हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’का कलाकार हेर्ने हो भने अधिकांश महँगा कलाकार छन्। यो फिल्मको लागत निर्माण पक्षले नभनेता पनि २ करोड हाराहारीमै बनेको हो भने अझै कलेक्सन बराबर कै रकम हलबाट उठाउनुपर्ने हुन्छ। रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ र प्रेम सोनी निर्देशित फिल्म ‘गुरुआमा’को निराशाजनक छ। यी फिल्मले लगानी उठाउन सक्ने अवस्था तत्काल देखिएको छैन।  

जेठ ४, २०८३ सोमबार १५:१८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।