भारतको बिहारमा रेलको डिब्बामा आगलागी

भारतको बिहारमा रेलको डिब्बामा आगलागी

एजेन्सी : भारतको बिहार राज्यस्थित सासाराम रेलवे स्टेसनमा सोमबार बिहान एउटा गुड्नै लागेको रेलको डिब्बामा अचानक आगलागी भएको छ।

पटना जानका लागि प्लेटफर्म नम्बर ६ मा ठिक्क परेर बसेको रेलको एउटा डिब्बामा आगो लागेको हो।

मुख्य जनसम्पर्क अधिकारी सरस्वती चन्द्रका अनुसार आगलागी भएको समयमा रेलभित्र यात्रीहरू नभएकाले ठुलो दुर्घटना हुनबाट जोगिएको बीबीसीले जनाएको छ। यस घटनामा कोही पनि यात्री घाइते वा हताहत भएका छैनन्।

प्रत्यक्षदर्शीका अनुसार रेलको बी-३ डिब्बाको शौचालय भएको भागबाट सुरुमा धुवाँ निस्किएको देखिएको थियो।

केही बेरमै धुवाँ आगोमा परिणत भएर बोगीभित्र फैलिएको थियो। घटनाको जानकारी पाउनेबित्तिकै रेलवे प्रशासन र सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए।

आगो लाग्नुको स्पष्ट कारण अझै खुल्न सकेको छैन।

यद्यपि, प्रारम्भिक अनुसन्धानमा ‘सर्ट सर्किट’ वा कुनै प्राविधिक खराबीका कारण आगो लागेको हुनसक्ने आशङ्का गरिएको छ। रेलवे प्रशासनले यसबारे थप अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जेठ ४, २०८३ सोमबार १०:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।