कङ्गोमा इबोलाको महामारीबाट ८८ को मृत्यु, विश्वव्यापी आपत्काल घोषणा

कङ्गोमा इबोलाको महामारीबाट ८८ को मृत्यु, विश्वव्यापी आपत्काल घोषणा

एजेन्सी : डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ। अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

स्वास्थ्य मन्त्रीका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ।

स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन्। यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ।

स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरू घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ। विश्व स्वास्थ्य सङ्गठनले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जेठ ३, २०८३ आइतबार ११:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।