अमेरिकी अदालतमा अडानीको सम्झौता : पौने दुई करोड डलर जरिवाना तिर्न सहमत
एजेन्सी : लगानीकर्तालाई झुक्क्याएको र सौर्य ऊर्जा ठेक्काका लागि घुस दिएको आरोप लागेका भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको दीवानी मुद्दा सुल्झाउन १ करोड ८० लाख अमेरिकी डलर जरिवाना तिर्न सहमति जनाएका छन्।
अमेरिकी अदालतमा चलिरहेको भ्रष्टाचारसम्बन्धी विवादलाई अन्त्य गर्न अडानी र उनका भतिजा सागर अडानीले आरोप स्वीकार वा अस्वीकार नगरी आपसी सहमतिमार्फत उक्त जरिवाना तिर्ने निर्णय गरेका हुन्, जसलाई अडानी समूहमाथिको कानूनी सङ्कट टार्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
सहमतिलाई अडानी समूहमाथि लामो समयदेखि लाग्दै आएका वित्तीय तथा कानूनी विवादहरूको महत्त्वपूर्ण मोडका लिइएको छ। न्युयोर्कमा सन् २०२४ को नोभेम्बरमा दर्ता गरिएको अभियोगमा अडानी र उनका केही निकट सहयोगीमाथि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जानाजानी भ्रममा पारेको आरोप लगाइएको थियो।
अमेरिकी अभियोजकहरूले ठूलो परिमाणको घुसखोरी योजनामार्फत सौर्य ऊर्जा आपूर्ति सम्झौता हासिल गर्न भारतीय अधिकारीहरूलाई प्रभावित पार्ने प्रयास गरिएको दाबी गरेका थिए। अभियोगअनुसार अडानीमाथि करिब २५ करोड अमेरिकी डलर बराबरको घुस योजनामा संलग्न रहेको आरोप थियो। उक्त योजनामार्फत आकर्षक ऊर्जा सम्झौता सुरक्षित गर्न खोजिएको अमेरिकी पक्षको दाबी थियो।
अडानी ग्रीन एनर्जीले मुम्बई स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार गौतम अडानी र उनका भतिजा सागर अडानीले संयुक्त रूपमा एक करोड ८० लाख अमेरिकी डलर बराबरको ‘नागरिक जरिवाना’ तिर्न सहमति जनाएका छन्। कम्पनीले यो सहमति ‘आरोप स्वीकार वा अस्वीकार नगरी’ भएको स्पष्ट पारेको छ।
पत्रमा अडानी ग्रीन एनर्जी स्वयं यो मुद्दाको प्रत्यक्ष पक्ष नभएको र कम्पनीविरुद्ध कुनै औपचारिक आरोप नलगाइएको पनि उल्लेख गरिएको छ। साथै अमेरिकी अदालतको अन्तिम आदेश आउन बाँकी रहेको जानकारी दिइएको छ।
यसैबीच अमेरिकी अभियोजकहरूले अडानीविरुद्ध लगाइएका केही आरोपहरू फिर्ता लिने तयारी गरेको समाचार द न्युयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको थियो। उक्त रिपोर्टअनुसार अडानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलमध्ये एक रोबर्ट गिफ्राको नेतृत्वमा नयाँ कानूनी टोली नियुक्त गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो।
गौतम अडानी पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय व्यापार जगतमा लगातार चर्चामा रहँदै आएका छन्। कोइला, बन्दरगाह, विमानस्थल, सिमेन्ट, ऊर्जा र सञ्चारमाध्यमसम्म फैलिएको अडानी समूहको व्यापारिक विस्तारले उनलाई भारतकै शक्तिशाली उद्योगपतिमध्ये एक बनाएको छ।
तर सोही अवधिमा समूहमाथि कर्पोरेट पारदर्शिता, सेयर कारोबार र वित्तीय अनियमिततासम्बन्धी आरोपहरू पनि लाग्दै आएका छन्। केही अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरूको सेयर बजारमा तीव्र गिरावट आएको थियो, जसले विश्वव्यापी लगानीकर्तामाझ ठूलो चासो र बहस उत्पन्न गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको चर्चा हुने अडानीको जन्म गुजरात राज्यको अहमदाबादमा मध्यम वर्गीय परिवारमा भएको थियो। आर्थिक सङ्घर्षबीच हुर्किएका उनले १६ वर्षको उमेरमै विद्यालय छोडेका थिए।
पछि रोजगारीको खोजीमा उनी भारतको आर्थिक केन्द्र मुम्बई पुगेका थिए। मुम्बईमा उनले सुरुमा रत्न तथा हिरा व्यापार क्षेत्रमा काम गरेका थिए। त्यसपछि आफ्ना दाजुको प्लास्टिक व्यवसायमा केही समय संलग्न भएर उनले व्यापारिक अनुभव हासिल गरे।
सन् १९८८ मा उनले निर्यात व्यापारबाट आफ्नो व्यावसायिक यात्रा औपचारिक रूपमा सुरु गरेका थिए। त्यही व्यवसाय विस्तार हुँदै पछि अडानी समूहका रूपमा विकसित भयो।
उनको व्यापारिक जीवनमा निर्णायक मोड सन् १९९५ मा आयो। त्यसबेला उनको समूहले गुजरातमा निजी क्षेत्रअन्तर्गत व्यावसायिक बन्दरगाह निर्माण तथा सञ्चालनको ठूलो सम्झौता प्राप्त गरेको थियो। त्यसपछि अडानी समूहले पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा तीव्र विस्तार गर्दै भारतको प्रमुख औद्योगिक समूहका रूपमा आफ्नो स्थान बनाएको हो।
जेठ १, २०८३ शुक्रबार १४:३९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।