तमिल सुपरस्टार विजय मुख्यमन्त्री बने लगत्तै न्यून आय र महिला सुरक्षाको पक्षमा तीन महत्त्वपूर्ण निर्णय
चेन्नई : तमिल फिल्म उद्योगका सुपरस्टार ‘थालापति’ विजयले आइतबार तामिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिए लगत्तै न्यून आय भएका, दुर्व्यसन नियन्त्रण र महिला सुरक्षाका पक्षमा तीन महत्वपूर्ण निर्णय गरे।
२०२४ मा राजनीतिमा प्रवेश गरेको दुई वर्षभित्रै आफ्नो पार्टी ‘तमिलगा वेत्री कजगम’ (टिभिके) लाई सत्तामा पुर्याउँदै विजयले आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा पद तथा गोपनीयताको शपथ लिएका थिए।
मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै उनले जनहितका तीनवटा ठूला निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ। उनले तामिलनाडुका प्रत्येक परिवारलाई २०० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरे। राज्यबाट लागुऔषध दुर्व्यसनी हटाउन प्रत्येक जिल्लामा ‘विशेष बल’ गठन गर्ने र महिलाहरूको सुरक्षा सुनिश्चित गर्न छुट्टै ‘स्पेशल टास्क फोर्स’ निर्माण गर्ने निर्णय गरे।
सत्ताको समीकरण र समर्थन
२३४ सदस्यीय तामिलनाडु विधानसभा निर्वाचनमा विजयको पार्टी टिभिकेले १०८ सिट जितेको थियो। विजय स्वयं दुई क्षेत्रबाट निर्वाचित भएकाले उनले एक सिट छाड्नुपर्नेछ, जसका कारण टिभिकेको संख्या १०७ मा झर्नेछ।
सरकार टिकाउन ११७ सांसद आवश्यक पर्नेमा विजयलाई अन्य विपक्षी दलहरूले समर्थन गरेका छन्। उनलाई पाँच सिट रहेको कांग्रेस आईसहित सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलले समर्थन गरेको हो।
यससँगै विजयको पक्षमा १२१ सांसद पुगेका छन्, जुन बहुमतका लागि पर्याप्त छ। राज्यपाल राजेन्द्र अर्लेकरले उनलाई मे १३ भित्र विधानसभाबाट विश्वासको मत लिन समय दिएका छन्।
मुख्यमन्त्री विजयसँगै अन्य ९ जनाले मन्त्रीको रूपमा शपथ लिएका छन्। जसमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन्।
‘सिट्ठी’ अभियानले दिलाएको सफलता
विजयले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै २३४ सिटमा उम्मेदवारी दिएका थिए। उनले सत्तारुढ डीएमकेलाई ‘खराब शक्ति’ र भाजपालाई ‘वैचारिक शत्रु’ को संज्ञा दिँदै ‘सिट्ठी अभियान’ सञ्चालन गरेका थिए।
आफूलाई प्रत्येक तमिल परिवारको सदस्यका रूपमा प्रस्तुत गर्दै उनले सिट्ठीलाई परिवर्तनको प्रतीक बनाएका थिए, जसलाई मतदाताले पूर्ण समर्थन दिए।
फिल्मदेखि मुख्यमन्त्रीसम्मको यात्रा
सन् १९७४ मा चेन्नईमा जन्मिएका विजय प्रसिद्ध निर्देशक एस.ए. चन्द्रशेखरका छोरा हुन्। बाल कलाकारबाट फिल्म यात्रा सुरु गरेका उनले ‘गिल्ली’, ‘कथी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता ब्लकबस्टर फिल्ममार्फत ‘थालापति’ (कमान्डर) को पहिचान बनाएका थिए।
सन् २०२४ फेब्रुअरी २ मा टिभिके स्थापना गरेका उनले सेप्टेम्बर ८ मा मात्रै निर्वाचन आयोगमा दल दर्ता गराएका थिए। राजनीतिमा होमिएको छोटो समयमै उनले द्रविड राजनीतिमा दशकौँदेखि कायम रहेको डीएमके र एआईडीएमकेको वर्चस्वलाई चुनौती दिँदै सत्ताको बागडोर सम्हाल्न सफल भएका छन्।
वैशाख २७, २०८३ आइतबार १३:५१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।