पाकिस्तानको प्रहरी चौकीमा चरमपन्थी आक्रमणमा तीन प्रहरीको मृत्यु
एजेन्सी : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको एक चरमपन्थी आक्रमणमा परी तीन जना प्रहरीको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, बन्नु सहरको बाहिरी इलाकामा रहेको एउटा प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काइएको थियो। त्यसलगत्तै भएको ठूलो विष्फोटमा परी तीन प्रहरीको ज्यान गएको हो।
प्रहरी अधिकारी सज्जाद खानका अनुसार उक्त आक्रमणबाट प्रहरी चौकी पूर्ण रूपमा ध्वस्त भएको छ। उनले चौकीमा ड्युटीमा रहेका १५ जना प्रहरीमध्ये धेरैजसो मारिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
अर्का एक प्रहरी अधिकारीले बताए अनुसार, आतङ्ककारीहरूले सुरुमा विस्फोटक पदार्थले भरिएको कारले चौकीमा आक्रमण गरेका थिए। त्यसपछि उनीहरू चौकीभित्र पसेर प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
आक्रमणपछि मद्दतका लागि अन्य सुरक्षाकर्मीहरूलाई घटनास्थलमा पठाइएको थियो।
तर, बाटोमा ढुकेर बसेका चरमपन्थीहरूले थप मद्दतका लागि गएका सुरक्षाकर्मीमाथि पनि आक्रमण गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्। यसबाट थप केही सुरक्षाकर्मी हताहत भएको बताइएको छ।
आक्रमणको जिम्मा 'इत्तेहाद-उल-मुजाहिद्दीन' नामक एक चरमपन्थी सङ्गठनले लिएको छ।
वैशाख २७, २०८३ आइतबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।