तमिलनाडुमा सरकार गठनको लागि विजयले जुटाए बहुमत

तमिलनाडुमा सरकार गठनको लागि विजयले जुटाए बहुमत

एजेन्सी : तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ।

विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय (विजय थलापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ।

टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समीकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए।

उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन्। शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ।

कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन्। यससँगै टिभिकेले राज्य विधान सभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ।

वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थन पत्र हस्तान्तरण गरिसकेको बताइएको छ। तमिलनाडुमा २३४ सदस्यीय विधान सभामा बहुमतका लागि ११८ सिट आवश्यक छ भने टिभिकेले १०८ सिट पाएको छ। 

कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) का दुई, भारतीय कम्युनिष्ट पार्टी-मार्क्सवादी (सिपिएम) का दुई र भिसिकेका दुई विधायकको समर्थनमा टिभिके गठबन्धनको सङ्ख्या १२१ पुगेको छ। तर, विजय दुई सिटबाट विधायक भएकाले उनको एक सिटको मतदानमा कुनै अर्थ नरहने हुँदा उहाँको सत्ता समीकरणमा १२० सदस्यको समर्थन रहनेछ। अब भने विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

वैशाख २६, २०८३ शनिबार २०:५३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।