हैदरावादमा पूर्व आईपीएस अधिकृतकी पत्नीको मुखमा कपडा कोचेर हत्या, नेपाली कामदार कल्पना फरार
हैदरावाद : भारतको हैदरावादस्थित अति सुरक्षित मानिने जुबली हिल्स क्षेत्रमा एक पूर्व आईपीएस अधिकृतकी पत्नीको हत्या भएको छ।
६२ वर्षीया तनुजा रञ्जनको आफ्नै घरमा हातखुट्टा बाँधेर र मुखमा कपडा कोचेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
पूर्व आईपीएस अधिकृत विनय रञ्जन रेकी पत्नी तनुजा शुक्रबार बिहान आफ्नै कोठामा अचेत अवस्थामा फेला परेकी थिइन्। घटनाको समयमा विनय रञ्जन रे व्यक्तिगत कामले बेंगलुरु गएका थिए।
घरको पहिलो तलामा तनुजा र दोस्रो तलामा उनका दुई छोरीहरू सुतिरहेका थिए। शुक्रबार बिहान करिब ९:१५ बजे अर्की कामदार ढोका ढकढकाउन आउँदा यो रहस्य खुलेको हो।
छोरी सुनन्दाले ढोका खोल्दा घरमा काम गर्ने नेपाली महिला ‘कल्पना’ बेपत्ता थिइन्। भित्र गएर हेर्दा आमा तनुजा रगतले लतपतिएको कपडा मुखमा कोचिएको र हातखुट्टा बाँधिएको अवस्थामा फेला परिन्। अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
पोस्टमार्टम रिपोर्टले तनुजाको ओठमा चोट लागेको, नाडीमा डोरीले बाँधेको दाग र जिब्रोमा टोकेको घाउ देखिएको छ, जसबाट उनले बाँच्नका लागि अन्तिम समयसम्म संघर्ष गरेको पुष्टि हुने समाचार टाइम्स अफ इन्डियाले लेखेको छ।
नेपाली कामदारको योजनामा हत्या भएको आरोप
यो घटनामा घरमै काम गर्ने नेपाली महिला ‘कल्पना’को मुख्य योजना रहेको प्रहरीले जनाएको छ।
एक वर्षभन्दा लामो समयदेखि कार्यरत कल्पनालाई सुरुमा विनय रञ्जनकी आमाको हेरचाहका लागि राखिएको थियो, पछि उनले घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनले परिवारका सदस्यहरूको गतिविधि नजिकबाट नियालिरहेकी थिइन्।
प्रहरी आयुक्त भीसी सज्जनारका अनुसार रातको करिब १ बजे ३ जना अपरिचित व्यक्तिहरू मुख्य गेटबाट घरभित्र छिरेका थिए र २ देखि २:३० बजेको बीचमा निस्किएका थिए।
सीसीटीभी फुटेजमा उनीहरू हातमा फलामको रड र झोला लिएर बाहिरिएको देखिएको छ। हत्याराहरूले तनुजाको मुखमा कपडा कोचेर लुटपाटको उद्देश्यले हत्या गरेको प्रहरीले जनाएको छ।
आरोपीहरू नागपुरतिर फरार
घटनापछि कल्पनासहित तीनजना अज्ञात व्यक्तिहरू बहुमूल्य सामानहरू बोकेर फरार भएका छन्।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार उनीहरू अटो-रिक्सा चढेर नामपल्ली रेलवे स्टेशन पुगेका थिए। त्यहाँबाट उनीहरू ‘तेलंगाना एक्सप्रेस‘ चढेर नागपुरतर्फ भागेको आशंका गरिएको छ।
जुबली हिल्स प्रहरीले हत्या र लुटपाटको मुद्दा दर्ता गरेको छ। फरार आरोपीहरूको खोजी र पक्राउका लागि प्रहरीले १० वटा विशेष टोली परिचालन गरेको छ।
परिवारले हराएका सामानहरूको विवरण अझै उपलब्ध गराउन बाँकी छ। स्थानीय प्रहरीले यसलाई ‘लुटपाटकै लागि गरिएको हत्या‘ का रूपमा अनुसन्धान अघि बढाएको छ।
वैशाख २६, २०८३ शनिबार १४:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।