९०० करोडको ‘जल जीवन मिशन’ घोटालामा पूर्वमन्त्री महेश जोशी पक्राउ
राजस्थान : भारतको राजस्थानस्थित भ्रष्टाचार नियन्त्रण ब्यूरो (एसीबी) ले बिहीबार ९०० करोड भारुको ‘जल जीवन मिशन’ (जेजेएम) घोटाला प्रकरणमा पूर्वमन्त्री महेश जोशीलाई पक्राउ गरेको छ।
एसीबीको विशेष अनुसन्धान टोली (एसआईटी) ले बिहीबार बिहान जयपुर रेलवे स्टेशन नजिकैको सैन कोलोनीस्थित जोशीकै निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।
पूर्वमन्त्री जोशी यसअघि पनि यही घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा सन् २०२५ को अप्रिलमा पक्राउ परेका थिए।
सो क्रममा उनी करिब सात महिना जेल बसेका थिए। उनी डिसेम्बर २०२५ मा मात्रै सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका थिए।
रिहा भएको केही समयपछि नै उनी पुनः भ्रष्टाचार नियन्त्रण ब्यूरोद्वारा पक्राउ परेका हुन्। जल जीवन मिशनअन्तर्गत भएका विभिन्न कामका क्रममा ठुलो आर्थिक अनियमितता भएको आरोप उनीमाथि छ।
अधिकारीहरूले यस प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएका छन्।
वैशाख २४, २०८३ बिहीबार १३:१५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।