मध्यपूर्वको तनाव रोकेर तत्काल वार्तामा बस्न अन्तर्राष्ट्रिय दबाब
एजेन्सी : मध्यपूर्वमा सैन्य टकराब जटिल बन्दा अन्तर्राष्ट्रिय समुदायले तत्काल तनाव कम गर्न र वार्ताको मार्ग अपनाउन आह्वान गरेका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा भएका पछिल्ला आक्रमणहरूले क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपेपछि बेलायत, जर्मनी र साउदी अरेबिया लगायतका राष्ट्रहरूले युद्ध रोक्न कूटनीतिक पहल तीव्र पारेका छन्।
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले अवस्था थप चर्किन नदिन रोक लगाउनुपर्ने बताएका छन् भने जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई वार्ताको मार्गमा फर्कन आग्रह गर्दै क्षेत्रीय तथा विश्व शान्तिलाई बन्धक नबनाउन चेतावनी दिए।
इरानतर्फबाट भने पछिल्ला आक्रमणलाई प्रत्यक्ष रूपमा अस्वीकार नगरिए पनि पूर्वनियोजित योजना नभएको दाबी गरिएको छ। एक वरिष्ठ इरानी सैन्य अधिकारीले तेल संरचनामा आक्रमण गर्ने कुनै पूर्व योजना नरहेको र अमेरिकी सेनाको गतिविधिलाई उक्साहटपूर्ण भन्दै त्यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताए।
यसैबीच, संयुक्त अरब इमिरेट्सको शिक्षा मन्त्रालयले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै देशभरका विद्यालयहरूलाई बाँकी हप्ताका लागि दूरशिक्षामा रूपान्तरण गर्न निर्देशन दिएको छ।
अमेरिकी सेनाले भने इरानका छ वटा साना डुङ्गाहरू नष्ट गरेको र आफ्ना तथा व्यापारिक जहाजहरूलाई लक्षित गरी प्रहार गरिएका क्षेप्यास्त्र र मानवरहित आक्रमणकारी यन्त्रहरूलाई निष्क्रिय बनाएको जनाएको छ।
संयुक्त राज्य केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले अमेरिकी हेलिकप्टरहरूले व्यापारिक जहाजहरूलाई खतरा पुर्याउने डुङ्गाहरूलाई निशाना बनाएको जानकारी दिए। यद्यपि, तेहरानले आफ्ना युद्ध डुङ्गाहरू नष्ट भएको दाबीलाई अस्वीकार गर्दै अमेरिकी भनाइलाई निराधार र झुटो भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हर्मुज जलघाँटीमा स्थिति अपेक्षाकृत नियन्त्रणमै रहेको दाबी गरे। उनका अनुसार इरानले केही गोली प्रहार गरे पनि ठूलो क्षति भएको छैन। दक्षिण कोरियाली जहाजमा सामान्य असर परेको बाहेक अन्य क्षति नभएको उनले बताए।
संयुक्त अरब इमिरेट्सले भने इरानी आक्रमणबाट आफ्नो फुजैराह ऊर्जा केन्द्र प्रभावित भएको र उक्त घटनामा तीन भारतीय नागरिक घाइते भएको जनाएको छ। यसलाई उसले गम्भीर उल्लङ्घन भन्दै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ। तर इरानका एक वरिष्ठ अधिकारीले भने युएईमाथि आक्रमण गर्ने कुनै योजना नभएको पुनः दोहोर्याए।
ओमानतर्फ पनि असर परेको छ। हर्मुज जलघाँटी नजिकैको बुखा क्षेत्रमा एक आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणमा दुई जना घाइते भएका छन् भने चारवटा सवारीसाधन क्षतिग्रस्त भएका छन्।
यसैबीच, इजरायलले सुरक्षा सतर्कता उच्च स्तरमा राखेको जनाएको छ। इरान र अमेरिकाबीचको बढ्दो तनावलाई नजिकबाट निगरानी गरिरहेको त्यहाँका एक सैन्य अधिकारीले बताएका छन्।
अमेरिकी नौसैनिक युद्धपोतहरू हर्मुज जलघाँटी हुँदै खाडी क्षेत्रमा प्रवेश गरी व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्ने अभियानमा जुटेका छन्। यसपछि इरानी राज्य सञ्चारमाध्यमहरूले इस्लामिक गणतन्त्रको नौसेनाले चेतावनीस्वरूप अमेरिकी जहाज नजिकै क्षेप्यास्त्र, रकेट तथा मानवरहित आक्रमणकारी यन्त्र प्रहार गरेको दाबी गरेका छन्।
यद्यपि, अमेरिकी पक्षले आफ्ना झण्डा भएका व्यापारिक जहाजहरू सुरक्षित रूपमा उक्त जलमार्ग पार गरेको जनाएको छ। त्यसको प्रतिवाद गर्दै इरानको क्रान्तिकारी गाड्र्सले कुनै पनि व्यापारिक जहाजले हर्मुज पार नगरेको दाबी गरेको छ र अमेरिकी भनाइलाई पूर्णतः असत्य भनेको छ।
पछिल्ला यी सबै घटनाक्रमले मध्यपूर्व क्षेत्र थप अस्थिर बन्दै गएको देखाएको छ, जहाँ सैन्य गतिविधि, कूटनीतिक बयानबाजी र आपसी आरोप-प्रत्यारोपले स्थिति थप जटिल बनाइरहेको छ।
वैशाख २२, २०८३ मंगलबार १५:०४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।