हर्मुज स्ट्रेट : शान्ति वार्ता कि फेरि युद्ध ?
एजेन्सी : इरान र अमेरिकाबीचको हप्तौं लामो सैन्य टकराब अन्त्य गर्न पाकिस्तानको मध्यस्थता इरानले अघि सारेको नयाँ प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहज रूपमा स्वीकार नगर्ने संकेत गरेका छन्।
वार्ताको लागि पठाइएको इरानको पछिल्लो प्रस्तावप्रति आफू सन्तुष्ट नरहेको प्रतिक्रिया दिँदै ट्रम्पले इरानसँग सही सम्झौता नभएसम्म अमेरिका पछि नहट्ने बताए। इरान सम्झौताका लागि इच्छुक देखिए पनि प्रस्तावित बुँदाहरू अमेरिकी स्वार्थ अनुकूल नरहेको उनको भनाई छ।
सैन्य अभियान र संवैधानिक अडान
राष्ट्रपति ट्रम्पले अमेरिकी कंग्रेसका नेतृत्वलाई एक पत्र लेख्दै २८ फेब्रुअरी २०२६ मा सुरु भएको सैन्य शत्रुता ७ अप्रिल २०२६ पछि समाप्त भएको जानकारी दिएका छन्। हाउस स्पिकर र कार्यवाहक सिनेट अध्यक्षलाई पठाइएको पत्रमा राष्ट्रपतिले सो मितिपछि दुई देशका सेनाबीच कुनै गोली हानाहान नभएको दाबी गरे।
सैन्य अभियान रोकिएकाले थप कारबाहीका लागि कंग्रेसको पूर्वस्वीकृति लिनुपर्ने ६० दिने कानुनी समयसीमाको पालना अब आवश्यक नरहेको उनको तर्क थियो। तर, इरानीसँग जुध्न अमेरिका छिट्टै पछि नहट्ने उनको पछिल्लो अडानले अमेरिकी कंग्रेसलाई पठाएको प्रतिबद्धताभन्दा विपरीत देखिएको छ।
युद्धको लागत र आर्थिक क्षति
युद्धको आर्थिक भारलाई लिएर दुवै देशले परस्पर विरोधी तथ्याङ्क सार्वजनिक गरेका छन्। इरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) माथि वास्तविक लागत लुकाएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो द्वन्द्वका कारण अमेरिकाले करिब १०० अर्ब डलर नोक्सान बेहोरेको दाबी गरे।
तर, पेन्टागनले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार इरानविरुद्धको 'अपरेसन फ्युरी'मा २५ अर्ब डलर खर्च भएको छ। यसैबीच, ओमानको खाडीमा गरिएको नौसैनिक नाकाबन्दीका कारण इरानले ४.८ अर्ब डलर बराबरको तेल राजस्व गुमाएको अनुमान अमेरिकी पक्षको छ।
हर्मुज स्ट्रेट र क्षेत्रीय सुरक्षा
विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने हर्मुज स्ट्रेटमा सैन्य तनावका कारण व्यावसायिक आवतजावत अहिले पनि न्यून छ। अमेरिकी वित्त मन्त्रालयले उक्त मार्ग प्रयोग गरेबापत इरानलाई 'टोल' (शुल्क) बुझाउने कम्पनी वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
यसैबीच, अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी राष्ट्रहरूका लागि ८.६ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने निर्णय स्वीकृत गरेको छ। यस सम्झौता अन्तर्गत कतारलाई ४ अर्ब डलरको प्याट्रियट मिसाइल डिफेन्स सिस्टम र कुवेतलाई २.५ अर्ब डलरको इन्टिग्रेटेड ब्याटल कमाण्ड सिस्टम उपलब्ध गराइनेछ। इजरायल र संयुक्त अरब इमिरेट्सका लागि पनि ठूलो परिमाणमा अत्याधुनिक हतियार बिक्री गर्ने निर्णय भएको छ।
इरानको आन्तरिक रणनीति र सैन्य दाबी
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक लिखित बयानमार्फत आफ्ना नागरिकलाई आर्थिक र सांस्कृतिक मोर्चामा सक्रिय रहन आह्वान गरेका छन्। उनले व्यवसायीहरूलाई कठिन परिस्थितिमा पनि कर्मचारी कटौती नगर्न र स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
यता राष्ट्रपति ट्रम्पले इरानको नौसैनिक क्षमता नष्ट गरिएको दाबी गर्दै १५९ वटा इरानी जहाज समुद्रमा डुबाइएको उल्लेख गरेका छन्। उनले इरानको आणविक कार्यक्रमलाई निशाना बनाउनु इजरायल र मध्यपूर्वको सुरक्षाका लागि अनिवार्य कदम भएको जिकिर गरेका छन्। पाकिस्तानले हाल इरान र अमेरिकाबीचको वार्तामा औपचारिक मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।
वैशाख २०, २०८३ आइतबार ०९:१६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।