त्रिविको शैक्षिक पात्रो सुधार अभियान : २०५३ सालसम्मका बाँकी मौका परीक्षा असारभित्रै सम्पन्न हुने

त्रिविको शैक्षिक पात्रो सुधार अभियान : २०५३ सालसम्मका बाँकी मौका परीक्षा असारभित्रै सम्पन्न हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिग्रिएको शैक्षिक पात्रोलाई लयमा फर्काउन अनियमित रहेका परीक्षालाई तीव्रताका साथ सञ्चालन गरिरहेको छ।

आगामी साउनदेखि नयाँ शैक्षिक क्यालेन्डर अनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयले पुराना र रोकिएका परीक्षा धमाधम सञ्चालन गरिरहेको हो।

परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार कोरोना महामारी र विभिन्न आन्दोलनका कारण प्रभावित भएका परीक्षालाई असारभित्रै सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाइएको छ।

‘हामी अहिले महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका छौँ। २०५३ सालदेखि बाँकी रहेका मौका परीक्षाहरू पनि असारसम्म सम्पन्न गर्ने तयारी छ’, नियन्त्रक पौडेलले भने।

अहिले वैशाखमा बिएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, तथा वि.टेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ भने जेठमा तीनवर्षे स्नातक पहिलो वर्ष, चारवर्षे स्नातक पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष र वि.टेक तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक भइसकेको छ।

त्यसैगरी असारमा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा सम्पन्न गरिनेछ।

त्रिविले साउन १ गतेदेखि २०८३ सालको शैक्षिक पात्रो अनुसार नियमित रूपमा परीक्षा सञ्चालन गर्ने जनाएको छ। हाल चलिरहेका विभिन्न परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनमा पनि सुधार गरेको छ। नियन्त्रक पौडेलका अनुसार परीक्षा सम्पन्न भएको सय दिनभित्रै नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ।

त्रिविको यो कदमले शैक्षिक सत्रमा ढिलाइ हुँदा मारमा परेका हजारौं विद्यार्थीका लागि ठूलो राहत मिल्ने विश्वास लिइएको छ। यसअघि लामो समयसम्म नतिजा र परीक्षाको अन्योल हुँदा विद्यार्थीहरूको भविष्यमाथि प्रश्न उठ्ने गरेको थियो।

वैशाख १९, २०८३ शनिबार ११:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।