डोजरले बास उठायो, प्रहरीले सत्संगमा थुन्यो : सन्तबहादुर भन्छन्- ‘अपहरण गरी ल्याएर बन्दी झैँ राख्यो’

डोजरले बास उठायो, प्रहरीले सत्संगमा थुन्यो : सन्तबहादुर भन्छन्- ‘अपहरण गरी ल्याएर बन्दी झैँ राख्यो’

काठमाडौं : बागमती किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित भएका करिब दुई सयजनालाई बल्खुस्थित राधा स्वामी सत्संग ब्यासमा राखिएको छ।

बस्ती भत्काएर उचित व्यवस्थापन गर्ने आश्वासन दिएको सरकारले उनीहरूलाई कडा सुरक्षाबीच ‘बन्दी’ जस्तै बनाएर राखेको गुनासो पीडितहरूले गरेका छन्।

सत्संगभित्र रहेका विस्थापितलाई बाहिर निस्कन बन्देज छ भने बाहिरबाट आफन्त भेट्न आउँदा पनि प्रहरीलाई अनिवार्य नाम टिपाउनुपर्ने नियम लगाइएको छ। त्यहाँ पत्रकारहरूलाई समेत स्वतन्त्र रूपमा सूचना संकलन गर्न अघोषित प्रतिबन्ध लगाइएको छ।

बुधबार उकेराकर्मी त्यहाँ रहेका पीडितहरूलाई भेट्न जाँदा निकै संघर्ष गर्नुपर्यो। पछि प्रहरीकै प्रत्यक्ष निगरानीमा कुरा गर्ने र फोटो/भिडियो नखिच्ने सर्तमा मात्र भित्र पस्न दिइयो।

पत्रकार अघिअघि र प्रहरी पछिपछि गर्दै सत्संगमा डुल्दा धेरै पीडितहरू आफ्ना छरिएका सामान हेर्दै टोलाइरहेका देखिन्थे। नयाँ अनुहार देखेर आफ्ना पीडा पोख्न हौसिएकाहरू पनि नजिकै प्रहरी देख्नेबित्तिकै अनुहार अँध्यारो पार्दै आफ्नै काममा व्यस्त हुन्थे।

सत्संगभित्र बालबालिकाको संख्या पनि उल्लेख्य छ। अघिल्लो दिन मात्र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उनीहरूका लागि बेलुनलगायतका खेलौना बाँडेर गएकी रहिछन्।

बालबालिकाहरू त्यही बेलुनसँग खेलिरहेका थिए। तर, उनीहरूको बिथोलिएको पढाइ र भविष्यबारे भने कसैले चासो नदेखाएको पीडितहरूको दुखेसो छ।

‘अपहरण गरेजस्तै ल्याइयो, बन्दीजस्तो महसुस भयो’
उकेराको पछि लागेका प्रहरीलाई सामान मिलाउनका लागि बोलाएपछि सन्तबहादुर दमाई कुराकानी गर्न तयार भए। उनी चारजनाको परिवारसहित गत शनिबार बिहान ९ बजे यहाँ आइपुगेका रहेछन्।

सन्त साहुकोमा कपडा सिलाउने काम गर्छन् भने उनकी श्रीमती अरूको घरमा सरसफाइ गर्छिन्। भर्खरै एसईई दिएकी छोरीलाई कलेज पढाउने पैसा जम्मा गरिरहेका उनी यहाँबाट बाहिर निस्कन पाएका छैनन्।

‘हामी काम गरेर खानुपर्ने मान्छे, यहाँ बन्दीजस्तो भएर बस्नुपरेको छ,’ उनले भने, ‘छाप्रोमै बसे पनि हामी स्वतन्त्र र स्वाभिमानका साथ बस्दै आएका थियौँ। यसरी एकै ठाउँमा थुनिँदा बन्दी भएको महसुस भएको छ। मैले त त्यही भएर प्रहरीसँग झगडा नै गरेँ।’

सन्तका तीन छोरीमध्ये एक वैदेशिक रोजगारीमा छिन्, एकले भर्खरै एसईई दिएकी छन् भने कान्छी छोरी सात कक्षामा पढ्दै छिन्। उनीहरू महानगरपालिकाले दिएको बेलुन खेलेर दिन बिताइरहेकी छन्।

पसिनाले ठड्याएको घर निमेषमै ढल्यो
सर्लाहीबाट ९ वर्षको उमेरमा कामको खोजीमा काठमाडौं छिरेका सन्त विगत १३ वर्षदेखि गैरीगाउँको सुकुम्बासी बस्तीमा बस्दै आएका थिए।

पानी पर्दा कम्मरसम्म डुब्ने र हावाहुरीले छाना उडाउने समस्या भोगेका उनले वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर कमाएको करिब सात लाख रुपैयाँ खर्चेर जस्ताको टहरालाई ब्लकको पर्खालले घेरेर ‘घर’को आकार दिएका थिए।

छोरीहरूलाई पढ्न सजिलो होस् भनेर एउटै कोठालाई पर्दाले बारेर दुई भाग बनाएका थिए। तर, वैशाख १२ गते उनको त्यो सपनाको घरसहित स्वाभिमानमाथि सरकारको डोजर चल्यो।

‘ब्लक हालेर घर बनाएको धेरै भएको थिएन। बल्लबल्ल पानी नछिर्ने बनाएका थियौँ। अहिले ड्याङडुङ पारिदियो। डोजरले त हाम्रो घर मात्र भत्काएको होइन, मेरा छोरीहरूको भविष्यसमेत भत्काएको हो’, सन्तबहादुर बोल्दाबोल्दै मौन भए।

काम गर्न बाहिर निस्कन नपाउँदा परिवारको आम्दानी रोकिएको छ। आफन्तले समेत सुकुम्बासी भनेर हेला गर्न थालेको उनी बताउँछन्। सुरुका केही दिन भनेको बेलामा बाहिर जान नदिएपछि प्रहरीसँग धकेलाधकेलै भएको रहेछ।

‘बाहिर जान्छु भन्यो भने, तिमीहरूलाई खान दिइएको छ, बस्न दिइएको छ, किन जानुपर्यो भनेर प्रहरीले हप्काउँछन्,’ उनले सुनाए, ‘झगडा नै गरेपछि एकजना मात्र जानू भनेर मेरी श्रीमती बुधबार बल्ल काममा जान पाइ। दुःख गरेर खानुपर्ने मान्छेलाई यसरी जबर्जस्ती बन्दी बनाएर राखेर कसरी खाने?’

त्रासपूर्ण रात र त्यो बिहान
वैशाख १२ गते बस्तीमा डोजर चलाउनुभन्दा दुई दिनअघि मात्र सूचना दिइएको थियो। विगतमा दुई महिनाको म्याद दिने गरिएकाले ‘यसपाली पनि यस्तै हुने को कि?’ भनेर सुरूमा उनीहरूले पत्याएका थिएनन्।

तर, बस्तीमै ‘बालेन अरू जस्तो होइन, डोजर हानिहाल्छ’ भन्ने हल्ला चलेपछि सन्तबहादुरले शुक्रबार बिहानै पेप्सीकोला पुगेर तीन हजार रुपैयाँ भाडामा एउटा सानो टहरा फेला पारे। ५ सय रुपैयाँ बैना पनि दिए।

बैना दिएर फर्किंदा प्रहरी आएर नाम टिपिरहेको र ‘तपाईंहरूको जग्गा रहेनछ, अब जग्गा पाउनुहुन्छ’ भनेको खबर उनले श्रीमतीमार्फत सुने।

उनीहरू शुक्रबार राति डर र त्रासको माहोलमै बाहिर राखिएको सामान जोगाउन लागे। रातभरि ठूलो पानी पर्यो। त्यो रात जीवनकै कठिन रात भएको उनी सम्झछन्। बेस्सरी पानी परेको बेला अनेक उपाय लगाएर सामान सुरक्षित गर्न खोज्दा पनि धेरै सामान भिजेको उनले सुनाए। 

त्यही राति माइकिङ गर्दै हिँडेका प्रहरीले ‘भोलि बिहान ६ बजे डोजर आउँछ, त्यतिबेलासम्म सामान क्लियर भएन भने राम्रो हुँदैन’ भन्दै आतंकित पारेको उनी सम्झन्छन्। पानीमा रुझ्दै सामान जोगाउने प्रयास गर्दागर्दै त्यो रात बित्यो।

गत शनिबार बिहान छ बजे नै डोजर आउने खबरका बीच साढे छ बजेसम्म पनि डोजर नआएपछि सन्तबहादुर पेप्सीकोलाको कोठामा सर्ने तयारी गर्दै थिए। त्यही बेला नगरप्रहरी आएर उनीहरूको सामान ट्रकमा हालिदिए र सीधै सत्संगमा ल्याइपुर्याए।

‘​​​​​​शनिबार बिहान ९ बजेतिर झ्यापझुप समातेर हामीलाई यहाँ ल्याइयो। पछि पो डोजर शान्तिनगर हुँदै हाम्रोसम्म पुग्यो भन्ने सुनेँ। तर, हामीले हाम्रो घरमा डोजर चलेको देखेनौँ,’ उनले भने, ‘पछि मेरो परिवार घर हेर्न गएर रोएर आयो। म त अझै पनि जान सकेको छैन। एउटा कोठाको, जस्ताको छाना नै भए पनि आफ्नो घर भत्किएको कसरी हेर्नु!’

बस्तीका १८ सय घरधुरी एकैपटक भत्काइएको देख्दा आफूहरूलाई ‘सरकारले अपहरण गरेर ल्याएजस्तो’ महसुस भएको उनले बताए।

सत्संगको बास: पानी चुहिन्छ, खाना उस्तै
सत्संगभित्रको बसाइ पनि उस्तै कष्टकर छ। सुरुमा पानी चुहिने र रातभर लामखुट्टेले टोक्ने समस्या भोगेकाबारे विरोध गरेपछि मात्रै उनीहरूका लागि झुल र टेन्टको व्यवस्था गरियो। खानपिनको अवस्था पनि उस्तै थियो।

सानो प्लास्टिकको खण्डे थालमा दिइने खाना थप्न पाइँदैनथ्यो। विरोध गरेपछि मात्र थपेर खान दिने व्यवस्था मिलाइयो। यहाँ गर्भवती, सुत्केरी तथा प्रेसर र सुगरका बिरामीहरू भए पनि सबैलाई एउटै प्रकारको खाना दिइने गरिएको छ। चिसो भुइँमा सत्संगकै म्याट ओछ्याएर रात काट्नुपर्दा उनीहरू निकै त्रसित छन्।

सरकारले यहाँ १५ दिन राख्ने भनेको सुनेका सन्तबहादुर त्योभन्दा बढी राख्न खोजे झगडा गरेरै भए पनि निस्कने बताउँछन्।

‘वर्षौंदेखि भाडा तिर्न नपर्दा निकै राहत भएको थियो। तर, सरकारले पिँधमा परेका हामीलाई फेरि पिँधमै पुर्याउने काम नगरोस्,’ उनले सरकारसँग विकल्पको आश गर्दै भने, ‘घर भत्किएको टेन्सन एकातिर, यताको मानसिक यातना अर्कोतिर। १५ दिन कसरी कटाउने? १५ दिनपछि सरकारले केही गरेन भने हामी कहाँ जाने?’

सन्तबहादुरले आफ्नो व्यथा सुनाइ नसक्दै उकेराकर्मीको पछाडि उभिएका प्रहरीले भने, ‘तपाईंको समय सकियो, अब निस्कनुस्।’

वैशाख १९, २०८३ शनिबार ०९:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।