अमेरिकासँग वार्ता गर्न इरानले पठायो नयाँ प्रस्ताव

अमेरिकासँग वार्ता गर्न इरानले पठायो नयाँ प्रस्ताव

एजेन्सी : मध्यपूर्वमा जारी युद्ध र कूटनीतिक गतिरोध अन्त्यका लागि इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताको लागि नयाँ प्रस्ताव पठाएको छ। 

स्ट्रेट अफ हर्मुजको अवरोध र नौसैनिक नाकाबन्दीका कारण अवरुद्ध संवादलाई पुनः सुरु गर्ने उद्देश्यले इरानले कूटनीतिक माध्यमबाट पहल अघि बढायो।

इरानको आधिकारिक समाचार एजेन्सीले भनेको छ, “इस्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकासँगको वार्ताको क्रममा मध्यस्थकर्ताको रूपमा पाकिस्तानलाई बिहीबार साँझ आफ्नो पछिल्लो वार्ताको प्रस्तावको पाठ बुझाएको छ।”

नयाँ प्रस्तावमा के समावेश गरिएको छ भन्ने विषय खुलाइएको छैन। करिब ४० दिनदेखिको तनावपछिको युद्ध विरामपछि इरान र अमेरिकाबीच एक चरण मात्र वार्ता भएको थियो।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएपछि वार्तामा सहभागी हुन इरानले अस्वीकार गरेको थियो। अमेरिकाले स्ट्रेट अफ हर्मुजलाई खोल्न इरानमाथि दबाब दिइरहेको छ। युद्धको सुरुवातदेखि जलमार्गबाट सीमित जहाजहरूलाई मात्र आवागमनमा अनुमति दिएको छ।

शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघीचीले साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका समकक्षीहरूसँग टेलिफोन वार्ता गरी इस्लामिक गणतन्त्रले युद्ध अन्त्य गर्ने पछिल्लो पहलबारे जानकारी गराएको थियो। 

वैशाख १८, २०८३ शुक्रबार २३:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।