सुकुम्वासी बस्ती स्थानान्तरण : विद्यार्थीको सुरक्षा र सिकाइ निरन्तरताका लागि सरकारको ६ बुँदे सर्कुलर
काठमाडौं : सरकारले सुकुम्वासी (अव्यवस्थित) बस्ती स्थानान्तरण गर्दा त्यहाँका विद्यार्थीहरू मर्कामा परेको भन्दै उनीहरूको सुरक्षा र सिकाइ निरन्तरताका लागि ६ बुँदे सर्कुलर जारी गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सबै स्थानीय तहलाई पत्राचार गर्दै बस्ती स्थानान्तरणका क्रममा विद्यार्थी र विद्यालयको व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेको हो।
केन्द्रले जारी गरेको सर्कुलरमा सुकुम्वासी बस्ती हटाउँदा प्रभावित भएका विद्यार्थीहरूलाई उनीहरूलाई पायक पर्ने नजिकको विद्यालयमा भर्ना तथा स्थानान्तरण गर्न स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।
त्यसैगरी, बस्ती स्थानान्तरणका कारण सिङ्गो विद्यालय नै प्रभावित भएको अवस्थामा विद्यालय समायोजन वा पठनपाठनको वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने प्रभावित बस्तीका परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्नका लागि आवश्यक यातायात वा अन्य सहजीकरण गरिदिन केन्द्रले सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ।
बस्ती स्थानान्तरणले विद्यार्थीको पढाइ र परीक्षामा पर्न सक्ने मनोवैज्ञानिक तथा भौतिक असरलाई न्यूनीकरण गर्न मन्त्रालयले यो कदम चालेको हो।
साथै, सुकुम्वासी बस्तीका विद्यार्थी वा विद्यालयको व्यवस्थापनसँग सम्बन्धित कुनै समस्या, गुनासो वा सुझाव भए तत्काल केन्द्रमा पठाउन पनि मन्त्रालयले स्थानीय तहहरूलाई आग्रह गरेको छ।
वैशाख १४, २०८३ सोमबार १३:३३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।