अन्तर्राष्ट्रिय विद्यार्थीको नयाँ शैक्षिक गन्तव्य बन्दै चीन
एजेन्सी : विश्व शिक्षा बजारमा चीन एक आकर्षक र नयाँ शैक्षिक गन्तव्यका रूपमा उदाउँदै गएको छ।
बेजिङमा सार्वजनिक गरिएको ‘मानव जातिको साझा भविष्य निर्माणमा योगदान गर्ने चीनमा अध्ययन’ शीर्षकको उक्त प्रतिवेदन चीनको सरकारी समाचार संस्था सिन्ह्वासम्बद्ध थिङ्क ट्याङ्क सिन्ह्वा इन्स्टिच्युटले तयार पारेको हो।
प्रतिवेदमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका केही परम्परागत शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको भनिएको छ। यसको सट्टा दक्षिण कोरिया र जापानजस्ता देशहरू अध्ययन गन्तव्यका रूपमा झन् आकर्षक बनेका छन्।
चीनले पछिल्ला वर्षहरूमा ‘शिक्षामा बलियो देश निर्माण’ भन्ने राष्ट्रिय रणनीति अघि सारेको छ। यस रणनीतिअन्तर्गत देशले आफ्नो शैक्षिक प्रणालीलाई निरन्तर सुधार गर्दै क्षमता विस्तार गरेको र शिक्षालाई आधुनिक बनाउने प्रक्रिया तीव्र पारेको प्रतिवेदनमा उल्लेख छ।
शिक्षा, अर्थतन्त्र र सामाजिक विकासलाई एक अर्कासँग समन्वय गर्दै अघि बढाउने नीतिका कारण चीनले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्ने बलियो आधार तयार पारेको बताइएको छ। विश्वविद्यालयहरूको स्तर सुधार, अनुसन्धान क्षमताको विस्तार र अन्तर्राष्ट्रिय सहकार्यका कारण चीन अध्ययनका लागि विश्वका विद्यार्थीहरूका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ।
प्रतिवेदन अनुसार हालसम्म चीनले विश्वका एक सय त्रियासी देश तथा क्षेत्रसँग शैक्षिक सहकार्य स्थापना गरिसकेको छ। त्यस्तै, एकसाठी देशसँग शैक्षिक डिग्री आपसी मान्यताको सम्झौता भएको छ र पैँतालीस संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
यसका साथै चीनले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई निरन्तर विस्तार गरिरहेको छ। यसले चीनको शैक्षिक प्रणालीलाई विश्वव्यापी बनाउँदै यसको प्रभाव र पहुँचलाई उल्लेखनीय रूपमा बढाएको प्रतिवेदनले निष्कर्ष निकालेको छ।
वैशाख १२, २०८३ शनिबार १५:०१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।