युद्धविराम तोडिए इरानमाथि कडा आक्रमण गर्ने तयारीमा अमेरिका
एजेन्सी : इरानसँगको हालको युद्धविराम तोडिएमा अमेरिकी सेनाले ‘हर्मुज जलडमरु’ वरपर रहेका इरानका सैन्य क्षमतामाथि आक्रमण गर्ने नयाँ योजना बनाइरहेको छ।
अमेरिकी समाचार संस्था सीएनएनले स्रोतलाई उद्धृत गर्दै यो समाचार लेखेको हो। समाचारमा अमेरिकाले मुख्यतया इरानका साना र छिटो चल्ने आक्रमणकारी डुङ्गाहरू, पानीमा माइनबिछ्याउने जहाजहरू र अन्य सैन्य हतियारहरूलाई लक्षित गर्नेछ।
यो जलमार्ग बन्द हुँदा विश्वको अर्थतन्त्रमा ठूलो असर परेको छ र अमेरिकामा महँगी घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा समेत बाधा पुगेको छ। गत अप्रिल ७ देखि दुवै देशबीच युद्धविराम लागू भए पनि तनाव भने कायमै छ।
अमेरिकी सैन्य अधिकारीहरूले आक्रमणका लागि अन्य विकल्पहरू पनि तयार पारेका छन्। इरानलाई वार्ताको टेबुलमा ल्याउन ट्रम्पले त्यहाँका ऊर्जा केन्द्र र अन्य महत्त्वपूर्ण पूर्वाधारमा हमला गर्न सक्ने चेतावनी दिएका छन्।
यस्तै, अमेरिकाले वार्ता भाँड्न खोज्ने इरानका शीर्ष सैन्य नेताहरूलाई पनि निसाना बनाउन सक्नेछ। यसमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’का कमाण्डर अहमद वाहिदी पनि पर्छन्।
यसका अलावा, युद्धविरामको समयमा इरानले नयाँ ठाउँमा सारेका मिसाइल, लन्चर र ड्रोन बनाउने कारखानाहरूमा पनि अमेरिकाले आक्रमण गर्ने योजना बनाएको छ।
इरानभित्र आन्तरिक विवाद भएको ट्रम्पको दाबी
यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेतासहित धेरै उच्च अधिकारीहरू मारिएका थिए।
राष्ट्रपति ट्रम्पले इरानको सत्ता अहिले कमजोर भएको दाबी गरेका छन्। इरानभित्रै ‘कट्टरपन्थी’ र ‘उदारवादी’ नेताहरूबीच को ठूलो बन्ने भन्ने विषयमा चर्को विवाद चलिरहेको ट्रम्पको भनाइ छ।
यद्यपि, ट्रम्प फेरि युद्ध सुरू गर्नुभन्दा कूटनीतिक माध्यमबाटै समस्या समाधान होस् भन्ने चाहन्छन्। तर युद्धविराम अनिश्चितकालका लागि नभएको र आवश्यक परेमा अमेरिकी सेना जुनसुकै बेला आक्रमण गर्न तयार रहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।
अमेरिकी नौसेनाद्वारा कडा नाकाबन्दी
अहिले हर्मुज जलमार्ग खुलाउन अमेरिकालाई सजिलो छैन किनभने इरानका धेरैजसो तटीय मिसाइलहरू अझै त्यहीँ छन्।
यसैबीच, अमेरिकाले समुद्रमा आफ्नो उपस्थिति बढाएको छ। हाल मध्यपूर्वमा दुईवटा विमानवाहक जहाजसहित अमेरिकाका १९ वटा र हिन्द महासागरमा ७ वटा युद्धपोत तैनाथ छन्।
गत अप्रिल १३ देखि अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्न सुरु गरेको छ। यस क्रममा अमेरिकाले इरानको तेल बोकेका जहाजहरूलाई बीचैमा रोक्ने र नियन्त्रणमा लिने काम गरिरहेको छ।
वैशाख ११, २०८३ शुक्रबार ०७:३०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।