‘स्ट्रेट अफ हर्मुज’मा नाकाबन्दी जारी रहँदै गर्दा अमेरिकी जलसेना मन्त्रीले दिए राजीनामा

‘स्ट्रेट अफ हर्मुज’मा नाकाबन्दी जारी रहँदै गर्दा अमेरिकी जलसेना मन्त्रीले दिए राजीनामा

एजेन्सी : अमेरिकी जलसेना मन्त्री जोन फेलनले ट्रम्प प्रशासन छोड्ने भएका छन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले बुधबार यसको घोषणा गरेको हो।

पेन्टागनका प्रवक्ता सन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै फेलनको राजीनामा तत्काल लागू हुने बताएका छन्। अब जलसेनाका उपमन्त्री हङ काओले कार्यवाहक मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

पछिल्लो समय ट्रम्प प्रशासन छोड्ने फेलन अर्का उच्च सैन्य अधिकारी हुन्। इरानसँग अमेरिका र इजरायलको युद्ध चलिरहेको र महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा अमेरिकाले नाकाबन्दी गरिरहेकै समयमा उनको राजीनामा आएको हो।

‘युद्ध मन्त्री र उपमन्त्रीको तर्फबाट, हामी मन्त्री फेलनले विभाग र अमेरिकी नौसेनालाई पुर्याएको योगदानप्रति आभारी छौँ। हामी उनको सुखद भविष्यको कामना गर्दछौँ’, प्रवक्ता पार्नेलले लेखेका छन्। यद्यपि, जलसेनाले उनको राजीनामाको कारण भने खुलाएको छैन।

केही हप्ताअघि मात्र अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए।

त्यसैगरी, हालै अन्य दुई सैन्य अधिकारी जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीनलाई पनि जिम्मेवारीबाट हटाइएको थियो। पेन्टागनको नेतृत्व सम्हालेयता रक्षामन्त्री हेगसेथले जलसेना सञ्चालन प्रमुख र वायुसेनाका उपप्रमुखलगायत एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।

कुनै सैन्य अनुभव नभएका गैर-सैनिक फेलनलाई सन् २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले नौसेना मन्त्रीमा मनोनित गरेका थिए। उनले मार्च २०२५ मा पदको शपथ लिएका थिए।

उनको स्थान लिन लागेका कार्यवाहक मन्त्री काओ भने जलसेनामा २५ वर्ष काम गरेका अनुभवी व्यक्ति हुन्। उनी अक्टोबर २०२५ मा उपमन्त्री बनेका थिए। सन् २०२४ मा ट्रम्पको समर्थन पाएका काओ भर्जिनिया राज्यबाट अमेरिकी सिनेटको चुनावमा डेमोक्रेटिक सिनेटर टिम केनसँग पराजित भएका थिए।

जलसेनाको यो नेतृत्व परिवर्तन यस्तो समयमा भएको छ जतिबेला राष्ट्रपति ट्रम्पले युद्धविरामको बीचमा पनि इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन्। विश्वको अधिकांश तेल आपूर्ति हुने महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा झडपहरू जारी छन्। इरानले सोही जलमार्गमा दुईवटा जहाज ‘कब्जा’ गरेको घोषणा समेत गरेको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानी बन्दरगाहहरूमा भइरहेको अमेरिकी जलसैनिक नाकाबन्दीप्रति राष्ट्रपति ट्रम्प सन्तुष्ट रहेको र इरान अहिले निकै कमजोर अवस्थामा छ भन्ने राष्ट्रपतिले बुझेको बताएकी छन्।

उता, अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिका र इजरायलले युद्धविरामको ठाडो उल्लङ्घन गरेका कारण स्ट्रेट अफ हर्मुज पुनः सुचारु गर्न सम्भव नरहेको बताएका छन्।

वैशाख १०, २०८३ बिहीबार ०७:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।