इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी, इस्लामावादमा निर्णायक वार्ता हुँदै

इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी, इस्लामावादमा निर्णायक वार्ता हुँदै

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्वमा संयुक्त राज्य अमेरिका अत्यन्तै बलियो स्थितिमा रहेको दाबी गरेका छन्।

ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन, ‘हामीले इरानसँगको युद्ध ठूलो अन्तरले जितिरहेका छौं। हाम्रो सेनाले अद्भुत काम गरेको छ।’

उनले अमेरिकी सञ्चारमाध्यमहरूले भने गलत प्रचार गरिरहेको आरोप लगाए। ट्रम्पका अनुसार इरानको जलसेना पूर्ण रूपमा ध्वस्त भएको छ, वायुसेना कमजोर भएको छ र उनीहरूका एन्टी-मिसाइल उपकरणहरू बाँकी छैनन्।

ट्रम्पले अमेरिकाले लगाएको नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै जबसम्म सम्झौता हुँदैन, तबसम्म नाकाबन्दी नहटाउने स्पष्ट पारेका छन्।

यसैबीच, तनाब कम गर्ने अन्तिम कूटनीतिक प्रयास स्वरूप अमेरिकी उच्च स्तरीय टोली पाकिस्तानको इस्लामावादतर्फ प्रस्थान गरेको छ। टोलीमा उपराष्ट्रपति जेडी भान्स, जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ रहेका छन्।

आगामी बुधबार युद्धविरामको समय सकिन लागेकाले इस्लामावादमा हुने यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ।

यद्यपि, इरानले ‘नाकाबन्दीको छायाँ’मा बसेर वार्ता नगर्ने अडान राखेकाले परिस्थिति थप जटिल बन्न सक्ने अनुमान गरिएको छ।

वैशाख ८, २०८३ मंगलबार ०९:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।