होर्मुज स्ट्रेटमा भारतीय जहाजमाथि गोली प्रहार

होर्मुज स्ट्रेटमा भारतीय जहाजमाथि गोली प्रहार

एजेन्सी : होर्मुज स्ट्रेटमा भारतीय झण्डा रहेका दुई वटा जहाजमाथि गोली प्रहार भएको घटनाप्रति भारतले चासो व्यक्त गरेको छ। भारतले इरानी राजदूतसँग उक्त विषयमा आफ्नो असन्तुष्टि राखेको छ।

शनिबार होर्मुज स्ट्रेटमा भारतीय झण्डा भएका दुई जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो। इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)को नौसेनाले दुई भारतीय जहाजलाई पछि हट्न बाध्य पारेको र त्यसक्रममा गोली प्रहार समेत भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छन्।

यद्यपि, जहाज र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ। मार्ग परिवर्तन गर्न आदेश दिइएका जहाजहरूमा कार्गो जहाज ‘जग अर्नव’ र तेल ट्याङ्कर ‘सनमार हेराल्ड’ रहेका छन्। म्यारिन ट्र्याकिङ डेटाले लारक टापु पार गरेपछि ती जहाजहरूले यु-टर्न लिएको देखाएको बीबीसी हिन्दीले लेखेको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार साँझ इरानी राजदूतलाई विदेश सचिवसँगको बैठकका लागि बोलाइएको थियो। बैठकमा विदेश सचिवले भारतीय जहाजहरूमा भएको गोली प्रहारप्रति चिन्ता व्यक्त गर्दै भारतले व्यापारिक जहाज र नाविकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिने कुरा स्पष्ट पारिएको छ।

इरानलाई भारततर्फ आउने जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्न र यसअघि इरानले पुर्याएको सहयोगलाई निरन्तरता दिन आग्रह गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सेनाले होर्मुज स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रणमा लिइरहेको छ। आईआरजीसीले अमेरिकामाथि ‘समुद्री डकैती’को आरोप लगाउँदै अमेरिकी नाकाबन्दीको विरोधमा यो क्षेत्र आफ्नो नियन्त्रणमा रहने उल्लेख गरेको छ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन्। ट्रम्पले इरानसँग कुनै ठोस सम्झौता नभएमा पुनः सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका छन्। इरान र अमेरिकाबीचको विवाद समाधानका लागि पाकिस्तानको इस्लामावादमा भएको पहिलो चरणको वार्ता भने निष्कर्षविहीन टुङ्गिएको थियो।

वैशाख ६, २०८३ आइतबार ०९:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।