होर्मुज स्ट्रेट फेरि बन्द गर्ने इरानको घोषणा

होर्मुज स्ट्रेट फेरि बन्द गर्ने इरानको घोषणा

एजेन्सी : इरानीले 'होर्मुज स्ट्रेट'लाई फेरि आफ्नो नियन्त्रणमा लिन सुरु गरिएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई उद्धृत गर्दै होर्मुज स्ट्रेट 'पुरानै स्थिति'मा फर्किने र सशस्त्र बलले यस क्षेत्रलाई नियन्त्रण गर्ने लेखेका छन्।

इरानी सञ्चारमाध्यमले लेखेका छन्, "हामीले यसअघि केही जहाजहरू यस जलमार्गबाट पार भइरहेको देखेका थियौं, तर यो महत्त्वपूर्ण ढुवानी मार्गबाट कति जहाजहरू पार हुन सके भन्ने कुरा स्पष्ट छैन।" आईआरजीसीले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाइएको समाचारमा उल्लेख छ। 

अमेरिकाले गरिरहेको तथाकथित नाकाबन्दी समुद्री लुटपाट सरह भएको उसको दाबी छ। इरानले यसअघि आफ्ना बन्दरगाहहरूमाथिको अवरोध जारी रहे होर्मुज स्ट्रेट बन्द गरिदिने चेतावनी दिएको थियो। सैन्य घोषणा हुनुभन्दा केही समयअघि इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जालमार्फत युद्धविरामको बाँकी अवधिका लागि होर्मुज स्ट्रेटबाट सबै व्यापारिक जहाजहरूको आवागमन पूर्ण रूपमा खुला गरिएको घोषणा गरेका थिए।

विदेशमन्त्री अरागचीको उक्त घोषणा लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'ट्रुथ सोसल'मा इरानलाई धन्यवाद दिँदै लेखेका थिए, "इरानले भर्खरै 'स्ट्रेट अफ इरान' पूर्ण रूपमा खुला भएको र आवतजावतका लागि तयार रहेको घोषणा गरेको छ। धन्यवाद!"

तर, ट्रम्पले धन्यवाद दिएको केही मिनेटमै अर्को पोस्ट गर्दै होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी रहने बताएका थिए। ट्रम्पको प्रतिक्रिया र इरानी सेनाको पछिल्लो अडानले इरान र अमेरिकाबीच युद्धविरामपछि स्थायी शान्ति वार्ताको अपेक्षा बढिरहेका बेला फेरि असमझदारीहरू बढ्न थालेका छन्।

वैशाख ५, २०८३ शनिबार १५:५३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।