इजरायल-लेबनान १० दिने युद्धविराम लागू : ट्रम्पद्वारा हिजबुल्लाहलाई चेतावनी, लेबनानमा खुसीयाली
एजेन्सी : इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको छ।
युद्धविराम लागू भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई सम्झौताको पूर्ण पालना गर्न चेतावनीसहित आग्रह गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै हिजबुल्लाहले यो महत्त्वपूर्ण समयमा उचित र राम्रो व्यवहार गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘यदि उनीहरूले यसो गरे भने यो उनीहरूका लागि एउटा 'महान्' समय हुनेछ। अब थप हत्या हुनेछैन। अन्ततः शान्ति हुनैपर्छ।’
लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीपछि ट्रम्पले दुई देशबीच १० दिने युद्धविरामको सहमति भएको घोषणा गरेका थिए। यो युद्धविराम स्थानीय समयअनुसार मध्यरातबाट लागू भएको हो।
सुरुवातमा १० दिनका लागि लागू भएको यो सम्झौताको अवधि थपिन सक्ने अमेरिकाले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत लेबनान सरकारले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण गर्नबाट रोक्न ‘अर्थपूर्ण कदम’ चाल्नुपर्नेछ भने लेबनानको सम्प्रभुता र राष्ट्रिय रक्षाको सम्पूर्ण जिम्मेवारी लेबनानी सुरक्षा फौजको मात्र हुनेछ।
नेतन्याहु र हिजबुल्लाहका आ-आफ्नै सर्त
इजरायली प्रधानमन्त्री नेतन्याहुले यो सम्झौताले लेबनानसँग 'ऐतिहासिक शान्ति सम्झौता'को अवसर सिर्जना गर्ने बताएका छन्।
यद्यपि, उनले दक्षिणी लेबनानको १० किलोमिटर बफर जोनमा इजरायली सेना रहिरहने स्पष्ट पारेका छन्। साथै, अधिक स्थायी शान्तिका लागि हिजबुल्लाहलाई निःशस्त्र पार्नुपर्ने उनको भनाइ छ।
अर्कोतर्फ, हिजबुल्लाहले युद्धविरामको पालना गर्ने जनाए पनि लेबनानी भूमिमा इजरायली आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने र इजरायली सेनाको स्वतन्त्र आवतजावत बन्द हुनुपर्ने माग राखेको छ।
इजरायली अधिकारीहरूले भने युद्धविरामको समयमा हिजबुल्लाहले आक्रमण गरेमा मात्र त्यसको सैन्य जवाफ दिने प्रष्ट पारेका छन्।
यसैबीच, युद्धविराम लागू हुनुभन्दा ठीक अघिको २४ घण्टामा इजरायली सेना (आईडीएफ) ले दक्षिणी लेबनानमा रकेट लन्चर, मुख्यालय र लडाकुहरूसहित हिजबुल्लाहका ३८० भन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ।
घर फर्किँदै विस्थापित, लेबनानमा खुसीयाली
युद्धविराम लागू भएसँगै लेबनानमा खुसीयाली छाएको छ। इजरायली आक्रमणका कारण विस्थापित भएका मानिसहरू आफ्ना घरतर्फ फर्किन थालेका छन्।
सडकमा युवाहरूले इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनी र हिजबुल्लाहका मारिएका प्रमुख हसन नसरल्लाहको तस्बिर अंकित झण्डा बोकेर खुसियाली मनाइरहेका छन्।
संयुक्त राष्ट्रसंघका शरणार्थी प्रमुखले लेबनानमा विस्थापित भएका करिब १० लाख मानिसहरूका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। गत मार्च २ यता लेबनानमा इजरायली सैन्य कारबाहीमा दुई हजारभन्दा बढीको ज्यान गइसकेको छ।
इजरायल र लेबनानबीच प्रत्यक्ष कूटनीतिक सम्बन्ध छैन। सन् १९९३ पछि यी दुई पक्षबीच भएको उच्चस्तरीय कूटनीतिक सहमतिको परिणाम नै हालको युद्धविराम हो। दुवै देशका नागरिकले यसलाई स्थायी शान्तिको प्रस्थानविन्दुका रूपमा हेरेका छन्।
वैशाख ४, २०८३ शुक्रबार ०८:१८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।