‘स्ट्रेट अफ होर्मुज’ खुला गर्न इरानलाई चीनको आग्रह

‘स्ट्रेट अफ होर्मुज’ खुला गर्न इरानलाई चीनको आग्रह

बेइजिङ : चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग टेलिफोन वार्ता गर्दै स्ट्रेट अफ होर्मुजमा सामान्य आवागमन पुनः सुचारु गर्न आग्रह गरेका छन्।

इरान-अमेरिका द्वन्द्व बढेपछि विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग मानिने यस क्षेत्रमा देखिएको अवरोध हटाउन चीनले इरानलाई आग्रह गरेको विवरण सार्वजनिक भएको हो।

विदेशमन्त्री वाङले स्ट्रेट अफ होर्मुजमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान गरिनुपर्ने बताएका छन्। तर, सँगै उनले यस जलमार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार र यातायातको स्वतन्त्रता एवं सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा पनि जोड दिए।

‘यो समुद्री मार्ग खुला हुनुमा नै विश्वका सबै देशको हित छ’, वाङले भनेका छन्। उनले हाल कायम रहेको युद्धविरामलाई निरन्तरता दिन र वार्ताको प्रक्रिया फेरि सुरु गर्न चीनको समर्थन रहेको समेत स्पष्ट पारे।

स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। सामान्य अवस्थामा विश्वभर खपत हुने तेल र ग्यासको २० प्रतिशत हिस्सा यही बाटो भएर ओसारपसार हुन्छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानले यो समुद्री मार्गमा नाकाबन्दी गरेको थियो। यो बाटो बन्द हुँदा विश्वभर तेल र ग्यासको अभाव हुनुका साथै मूल्यमा भारी वृद्धि भएको छ।

वैशाख ३, २०८३ बिहीबार १३:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।