अमेरिका र इजरायललाई साथ दिनेलाई इरानले भन्यो- ‘बल्ल अन्तर्राष्ट्रिय कानुन याद आयो?’

अमेरिका र इजरायललाई साथ दिनेलाई इरानले भन्यो- ‘बल्ल अन्तर्राष्ट्रिय कानुन याद आयो?’

एजेन्सी : इरानले आफूमाथि अमेरिका र इजरायलले गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ‘गम्भीर उल्लंघन’ भन्दै कडा निन्दा गरेको छ।

जापानस्थित इरानी दूतावासले एक विज्ञप्ति जारी गर्दै धेरै देशहरूले यो अपराध हुन दिएको र यसमा सहयोग पुर्याएको आरोप लगाएको छ।

इरानी दूतावासका अनुसार केही देशहरूले आफ्नो भूभाग र हवाई क्षेत्र अमेरिकालाई इरानविरुद्ध आक्रामक युद्ध छेड्नका लागि प्रयोग गर्न दिएका थिए।

इरानले भनेको छ, ‘ती देशहरूलाई आफूले गरिरहेको सहयोग अन्तर्राष्ट्रिय कानुनविपरीत हो भन्ने राम्रोसँग थाहा थियो, तर पनि उनीहरूले जानीजानी अमेरिकी सेनालाई सघाए।’

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दूतावासले लेखेको छ, ‘त्यस क्षेत्रका देशहरूले होर्मुज जलसन्धि हुँदै इरानविरुद्ध युद्ध भड्काउन अमेरिकी हतियारहरू पठाइएको स्पष्ट देखेका थिए। त्यसबेला अन्तर्राष्ट्रिय कानुनको पूर्ण रूपमा बेवास्ता गरियो, तर ती देशहरू मौन बसे।’

इरानले ती देशहरूको दोहोरो मापदण्डको पनि तीव्र आलोचना गरेको छ।

‘अहिले जब आक्रमणको नराम्रो असर उनीहरू आफैंले भोग्नु परिरहेको छ, तब उनीहरूलाई फेरि अन्तर्राष्ट्रिय कानुनको याद आउन थालेको छ,’ इरानले टिप्पणी गरेको छ, ‘तर अहिले पनि उनीहरू पीडितका लागि न्याय मागिरहेका छैनन्, बरु आफ्नै स्वार्थको मात्र चिन्ता गरिरहेका छन्।’

यस्तो विभेदकारी नीतिले नै संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको जगलाई कमजोर बनाउँदै लगेको इरानको निष्कर्ष छ।

आफ्नो अनुकूल हुँदा मात्र कानुन सम्झिने र प्रतिकूल हुँदा उल्लंघन गर्ने प्रवृत्तिले विश्व शान्तिमा खलल पुर्याउने इरानले बताएको छ।

वैशाख ३, २०८३ बिहीबार १२:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।