इरान-अमेरिका युद्धपछि यूएईमा पहिलो पटक सोमबारदेखि भौतिक कक्षा सुरू हुने
एजेन्सी : इरान-अमेरिका युद्धका कारण स्थगित भएको संयुक्त अरब इमिरेट्स (यूएई)को पठनपाठन अगामी सोमबारदेखि सुरू हुने भएको छ।
त्यहाँको शिक्षा मन्त्रालयले आगामी सोमबारदेखि देशभरका सबै शैक्षिक संस्थाहरूमा भौतिक रूपमै उपस्थित भएर गरिने पठनपाठन पुनः सुरु हुने घोषणा गरेको हो।
मन्त्रालयका अनुसार सोमबारदेखि देशभरका सबै नर्सरी, किन्डरगार्टन तथा सरकारी र निजी विद्यालयहरूमा विद्यार्थीहरू विद्यालयमै गएर पढ्न पाउनेछन्।
दुबईको ‘नलेज एन्ड ह्युमन डेभलपमेन्ट अथोरिटी’का अनुसार दुबईका निजी नर्सरीहरू भने बिहीबारदेखि नै क्रमिक रूपमा खुल्न थाल्नेछन्।
सुरुमा सरकारी र व्यापारिक भवनहरूमा रहेका नर्सरीहरूलाई प्राथमिकता दिइनेछ। अन्य नर्सरीहरूले भने स्वीकृत नियमअनुसार घरमै आधारित बाल हेरचाह सेवा जारी राख्न सक्नेछन्।
विद्यालयहरू जस्तै यूएईका सबै सरकारी तथा निजी विश्वविद्यालयहरूमा पनि आगामी सोमबारदेखि नै भौतिक कक्षा सुरु हुने उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान मन्त्रालयले जनाएको छ।
वैशाख ३, २०८३ बिहीबार ०९:३५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।