होर्मुज जलसन्धि सधैँका लागि खोल्ने ट्रम्पको घोषणा, चीनसँग ‘हतियार सम्झौता’ भएको दाबी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’ सधैंका लागि खुल्ला गर्ने घोषणा गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले यसअघिको नाकाबन्दी गर्ने निर्णय फिर्ता लिएको संकेत दिएका हुन्।
ट्रम्पले लेखेका छन्, ‘म होर्मुज जलसन्धि सधैंका लागि खोलिदिँदै छु, यसबाट चीन धेरै खुसी छ। म यो चीन र बाँकी विश्वका लागि पनि गर्दैछु। यस्तो स्थिति फेरि कहिल्यै आउने छैन।’
राष्ट्रपति ट्रम्पले चीनसँग एक महत्त्वपूर्ण सहमति भएको दाबी समेत गरेका छन्। उनका अनुसार चीनले अब इरानलाई कुनै पनि प्रकारका हतियार नपठाउने प्रतिबद्धता जनाएको छ। यही सहमतिका कारण आफूले जलसन्धि खोल्ने निर्णय गरेको उनले बताएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छिट्टै हुन लागेको भेटतर्फ संकेत गर्दै ट्रम्पले भनेका छन्, ‘यो निर्णयका कारण चिनियाँ राष्ट्रपतिले मलाई अंकमाल गर्दै धन्यवाद दिनेछन्।’
यसअघि गत अप्रिल १२ मा ट्रम्पले अमेरिकी नौसेना प्रयोग गरेर होर्मुज जलसन्धिमा आउजाउ गर्ने हरेक जहाजलाई रोक्ने घोषणा गरेका थिए।
ट्रम्पको उक्त कदमको चीन लगायत विश्वभरबाट आलोचना भएको थियो। चीनले होर्मुज जलसन्धि विश्व व्यापारका लागि अत्यन्तै संवेदनशील मार्ग भएको भन्दै नाकाबन्दीको विरोध गरेको थियो।
अहिले चीनले इरानलाई हतियार नपठाउने सर्तमा ट्रम्प आफ्नो अघिल्लो कठोर निर्णयबाट पछि हटेका हुन्।
होर्मुज जलसन्धिबाट विश्वको ठूलो हिस्सा कच्चा तेलको ओसारपसार हुने गर्दछ, त्यसैले यसलाई व्यापारिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ।
वैशाख ३, २०८३ बिहीबार ०९:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।