सातै प्रदेशमा अटिजम स्कुल सञ्चालन र शिक्षकको क्षमता विकासमा बेलायती राजदूतसँग छलफल

सातै प्रदेशमा अटिजम स्कुल सञ्चालन र शिक्षकको क्षमता विकासमा बेलायती राजदूतसँग छलफल

काठमाडौं : नेपालका सातै प्रदेशमा सञ्चालन गर्न लागिएको अटिजम स्कुल र शिक्षकहरूको पेसागत क्षमता विकासमा नेपाल र बेलायतबीच सहकार्य हुने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा भएको छलफलमा यस विषयमा समझदारी बनेको हो।

भेटमा नेपालमा ‘ट्रान्सनेसनल एजुकेसन’को सम्भावना र खेलकुद क्षेत्रको विकासका विषयमा पनि गहिरो विमर्श भएको छ।

छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा गरे।

विशेषगरी सातै प्रदेशमा खुल्ने अटिजम स्कुलका लागि आवश्यक स्रोत, जनशक्ति उत्पादन र शिक्षकको क्षमता विकासमा बेलायतको साथ महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।

जवाफमा राजदूत फेनले नेपालको शैक्षिक तथा खेलकुद क्षेत्रमा विगतदेखि नै गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिन बेलायत सरकार सधैँ उत्सुक रहेको बताए।

मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी हित र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर लैजाने विषयमा दुवै पक्ष सहमत भएका छन्।

वैशाख २, २०८३ बुधबार १०:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।