बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए पदबाट राजीनामा
एजेन्सी : बिहारको राजनीतिमा झण्डै दुई दशकसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका नीतीश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले लोकभवन पुगेर राज्यपालसमक्ष राजीनामा बुझाएका हुन्।
सन् २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका नीतीशको स्थायी राजनीतिक यात्रा नोभेम्बर २००५ देखि निरन्तर अघि बढेको थियो। राजीनामा पश्चात् सामाजिक सञ्जालमा सन्देशमार्फत नीतीश कुमारले आफ्नो कार्यकालको उपलब्धिहरू प्रस्तुत गरेका छन्।
उनले भनेका छन्, "२४ नोभेम्बर २००५ मा राज्यमा पहिलो पटक एनडीए सरकार बनेदेखि बिहारमा कानुनको शासन स्थापित भयो। हामीले सुरुदेखि नै हिन्दु, मुस्लिम, पिछडिएको वर्ग, दलित र महिला, दलित लगायत सबै वर्गको उत्थानका लागि काम गर्यौं।"
उनले शिक्षा, स्वास्थ्य, सडक, बिजुली र कृषिका साथै महिला तथा युवाहरूका लागि चालिएका कदमहरूलाई आफ्नो कार्यकालको प्रमुख सफलताका रूपमा उल्लेख गरेका छन्। उनले सन् २०२५ देखि २०३० सम्मका लागि 'सात निश्चय-३' को खाका तयार भइसकेको र यसले बिहारको विकासलाई थप गति दिने बताए।
बिहारको विकासमा केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले बिहार आगामी दिनमा देशकै अग्रणी राज्य बन्ने विश्वास व्यक्त गरे।
नीतीश कुमारलाई बिहारमा प्रशासन सुधारका लागि 'सुशासन बाबु' को ट्याग दिइएको थियो। विशेष गरी बिहारका सरकारी कार्यालयहरूलाई टाइपराइटरको युगबाट आधुनिक कम्प्युटर प्रविधिमा पुर्याउनु उनको सफलता मानिन्छ।
यद्यपि, पछिल्ला वर्षहरूमा पटक-पटक राजनीतिक गठबन्धन परिवर्तन गरेका कारण उनीमाथि 'पाला बदल्ने' नेताको आरोप पनि लाग्यो। विश्लेषकहरूले उनको वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठाए भने सामाजिक सञ्जालमा उनी आलोचना र व्यङ्ग्यको पात्र समेत बने।
नीतीशले अब आफूले मुख्यमन्त्रीको पद छाड्ने निर्णय पहिले नै गरिसकेको र नयाँ सरकारलाई आफ्नो पूर्ण सहयोग र मार्गदर्शन रहने बताएका छन्। यसैबीच, उनका छोरा निशान्त कुमारको जेडीयू कार्यालयमा बढ्दो उपस्थितिले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गराएको छ।
तर, उनका पुराना सहयोगीहरू भने नीतीशको अभाव पूर्ति हुन कठिन रहेको बताउँछन्। सन् १९७७ देखि उनीसँगै रहेका अशोक कुमार भन्छन्, "उनका जस्तो व्यक्तित्व भएको दोस्रो व्यक्ति पाउन असम्भव छ।"
भारतीय सञ्चार माध्यमले नीतीश कुमारको राजीनामासँगै बिहारमा एउटा लामो राजनीतिक अध्यायको अन्त्य भएको लेखेका छन्।
वैशाख १, २०८३ मंगलबार १७:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।