'मोगिङ' देखि 'ह्विम्सी' सम्म: सन् २०२६ मा जेन-जी र जेन-अल्फा पुस्तामाझ चर्चित १० 'स्ल्याङ' शब्द र तिनका अर्थ
एजेन्सी : कोलिन्स डिक्सनरीले सन् २०२६ को वर्षको चर्चित शब्दका रूपमा छानेको शब्द हो 'मोगिङ' (Mogging)। तर पछिल्लो एक वर्षमा युवा पुस्ताले सामाजिक सञ्जालमार्फत भाइरल बनाएका शब्द यसमा मात्र सीमित छैनन्। उनीहरुले यस्ता अनगिन्ती शब्दहरु प्रयोग गरिरहेका छन् जुन अन्य पुस्ताका लागि बुझ्नै कठिन हुने खालका छन्।
यस्तै शब्दहरु हुन् ह्विम्सी (Whimsy) , औरा फार्मिङ (Aura farming) स्लज (Sludge) र स्लप (Slop) जस्ता शब्दहरू जसले अहिले डिजिटल संवादमा राज गरिरहेका छन्।
धेरैजसो अनोपचारिक र चलनचल्तीका यस्ता स्ल्याङ शब्दहरूको इतिहास भने लामै हुन्छ, जुन निश्चित समुदाय वा उप-संस्कृतिबाट जन्मिएका हुन्छन्। सन् १९९७ देखि २०१२ बीच जन्मिएका जेनजी र सन् २०१२ देखि २०२५ बीच जन्मिएका जेनअल्फा पुस्ताले यस्ता पुराना शब्दहरूलाई अहिले सामाजिक सञ्जालमार्फत नयाँ रूप दिएर लोकप्रिय बनाउँदै आएका छन्।
उदाहरणका लागि, अहिले निकै चल्तीमा रहेको स्ले (Slay) शब्द सन् १९७० र ८० को दशकमा अश्वेत, ल्याटिनो र एलजीबीटीक्यु समुदायको 'ड्र्याग' संस्कृतिबाट आएको शब्द हो।
लन्डनस्थित किङ्स कलेजका स्ल्याङ एन्ड न्यु ल्याङ्ग्वेज आर्काइभका निर्देशक टोनी थोर्न युवा पुस्ताको भाषा प्रयोग निकै सिर्जनात्मक रहेको र यो कविता वा साहित्य जस्तै हुने बताउँछन्। उनी स्ल्याङले युवाहरू के सोचिरहेका छन् र उनीहरूका लागि के महत्त्वपूर्ण छ भन्ने देखाउने बताउँछन्।
सन् २०२६ मा जेनजी र जेनअल्फा पुस्तामाझ सर्वाधिक चर्चित १० शब्द र तिनका अर्थ यस्ता छन्:
१. औरा, औरा पोइन्ट्स र औरा फार्मिङ (Aura, aura points, aura farming) : कुनै व्यक्तिको आकर्षण, आत्मविश्वास र ऊ कत्तिको 'कुल' (आकर्षक/स्मार्ट) देखिन्छ भन्ने बुझाउन 'औरा' शब्दको प्रयोग हुन्छ। यदि कसैले कुनै राम्रो वा आकर्षक काम गर्यो भने उसले 'औरा पोइन्ट' कमाउँछ, र यदि लाजमर्दो वा मूर्खतापूर्ण काम गर्यो भने पोइन्ट गुमाउँछ। त्यस्तै, कसैले 'कुल' देखिनका लागि अनावश्यक वा धेरै मिहिनेत गरिरहेको छ भने त्यसलाई 'औरा फार्मिङ' भनिन्छ।
२. मोगिङ (Mogging) : सुरुमा पुरुषवादी अनलाइन समूहमा 'अल्फा मेल' (समूहको सबैभन्दा प्रभावशाली पुरुष) बुझाउने 'AMOG' शब्दबाट यसको उत्पत्ति भएको हो। तर अहिले यसको अर्थ फराकिलो भएको छ। आफ्नो रूप, स्टाइल वा आत्मविश्वासका कारण अरूलाई ओझेलमा पार्नु वा अरूभन्दा उत्कृष्ट देखिनुलाई 'मोगिङ' भनिन्छ। सन् २०२६ मा यसको प्रयोग २१० प्रतिशतले बढेको छ।
३. ह्विम्सी (Whimsy) :केवल एक शब्द मात्र नभएर जीवनशैली बनेको छ अहिले। बालसुलभ कौतूहल, चम्किलो रङका लुगा लगाउने, मोबाइल स्क्रिन छाडेर बुनाइ जस्ता परम्परागत सीपमा रमाउने र दैनिक जीवनलाई रोमान्टिक तथा रमाइलो बनाउने प्रवृत्तिलाई 'ह्विम्सी' भनिन्छ। जेन-जी पुस्ताले यसलाई कहिलेकाहीँ 'WhimZ' पनि लेख्ने गर्छन्।
४. म्याक्सिङ (-maxxing) :अहिलेको पुस्तामा आफूलाई हरेक क्षेत्रमा उत्कृष्ट बनाउने होडबाजी छ । 'म्याक्सिमाइजिङ' (Maximising) को छोटो रूप '-म्याक्सिङ' लाई जुनसुकै शब्दको पछाडि जोडेर प्रयोग गरिन्छ । जस्तै: लुक्स-म्याक्सिङ (रूप सुधार्ने), स्लिप-म्याक्सिङ (निद्रा पुर्याउने), प्रोटिन-म्याक्सिङ आदि । डिक्सनरी डटकमले यसलाई वर्षको शब्द घोषित गर्दै कुनै पनि कामलाई पूर्णताका साथ वा अधिकतम रूपमा गर्नु भन्ने अर्थ लगाएको छ ।
५. स्लप (Slop) :आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगसँगै एआईले बनाउने कमसल सामग्रीलाई होच्याउन 'स्लप' शब्दको प्रयोग हुन्छ। एआईबाट बनेका गुणस्तरहीन तस्बिर र भिडियोलाई 'स्लप' भनिन्छ। यसैगरी, एआईबाट बनाइने सस्तो प्रोपोगान्डालाई 'स्लपगान्डा' (Slopaganda) भन्न थालिएको छ, जसको प्रयोग सन् २०२६ मा १,३०० प्रतिशतले बढेको छ।
६. स्लज (Sludge): यो 'स्लप' सँग मिल्दोजुल्दो शब्द हो, तर यसको अर्थ अलि फरक छ। एउटै स्क्रिनमा विभिन्न भिडियोहरू (जस्तै: एकातिर कथा वाचन, अर्कोतिर भिडियो गेम र सँगै अरू नै दृष्य) मिसाएर बनाइएका भिडियो सामग्रीलाई 'स्लज' भनिन्छ। दर्शकलाई लामो समयसम्म स्क्रिनमा अड्काइराख्ने लत लगाउने खालका सामग्री बुझाउन यो शब्द प्रयोग हुन्छ।
७. क्ल्याङ्कर (Clanker): सन् २००५ को 'स्टार वार्स' भिडियो गेममा रोबोटहरूलाई होच्याउन प्रयोग गरिएको यो शब्द अहिले एआई रोबोट र च्याटबटहरूलाई गिज्याउन प्रयोग हुन थालेको छ।
८. अङ्क (Unc) :अङ्ग्रेजी शब्द 'अङ्कल' (Uncle) को छोटो रूप 'अङ्क' हो। अफ्रिकी-अमेरिकी समुदायबाट आएको यो शब्द अहिले युवाहरूले कोही व्यक्ति पुरानो सोचको भयो वा 'आउटडेटेड' भयो भनी जिस्क्याउन प्रयोग गर्छन्। उमेर जतिसुकै भए पनि कसैले पाको वा पुरानो खालको व्यवहार देखायो भने उसलाई मायालु पाराले गिज्याउँदै 'अङ्क' भनिन्छ।
९. चड (Chud) : सन् १९८४ को एक साइन्स-फिक्सन हरर फिल्म 'C.H.U.D' (जसको अर्थ न्युयोर्कको ढलमा बस्ने राक्षस भन्ने हुन्थ्यो) बाट यो शब्द आएको हो। पछि राजनीतिक व्यङ्ग्यका रूपमा प्रयोग हुँदै अहिले युवापुस्ताले कुनै 'लुजर' (असफल) वा मूर्ख व्यक्तिलाई होच्याउन 'चड' शब्द प्रयोग गर्छन्।
१०. कोडेड : (coded) कुनै व्यक्ति, वस्तु वा अनुभूति कस्तो खालको छ वा कुन प्रवृत्तिसँग मिल्दोजुल्दो छ भनी बुझाउन शब्दको पछाडि '-कोडेड' जोडिन्छ। जस्तै: 'गोल्डेन रिट्रिभर-कोडेड' (कुकुरको प्रजाति जस्तै मिलनसार र वफादार) वा 'कर्टिसोल-कोडेड' (Cortisol-coded)। कर्टिसोल तनाव उत्पन्न गर्ने हर्मोन भएकाले यदि कुनै कुराले तनाव वा चिन्ता दिन्छ भने त्यसलाई 'कर्टिसोल-कोडेड' भनिन्छ।
भाषाविद् ग्रान्ट ब्यारेटका अनुसार पाको पुस्ताले युवाहरूका यी सबै शब्द सिक्नैपर्छ वा प्रयोग गर्नैपर्छ भन्ने छैन । युवाहरूले आफ्नो पहिचान र मित्रता विकास गर्ने क्रममा यस्ता नयाँ शब्दहरू सिर्जना गरिरहन्छन्।
(बीबीसीबाट अनुवाद)
मंसिर १४, २०८३ सोमबार ००:००:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।