प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि, परिणाममुखी बनाउन शुभकामना

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि, परिणाममुखी बनाउन शुभकामना

काठमाडौं : नेपाली कांग्रेसले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको सफलताको कामना गर्दै भ्रमणअघि प्रतिपक्षी दल तथा विज्ञहरूसँग परामर्श नगरेकोप्रति असन्तुष्टि जनाएको छ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै महत्त्वपूर्ण विदेश भ्रमणअघि प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श गरी साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक परम्परालाई वर्तमान सरकारले निरन्तरता नदिएको उल्लेख गरेका छन्।

विज्ञप्तिअनुसार सरकारलाई रचनात्मक सुझाव दिन कांग्रेसले गत बुधबार जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायतका विषयमा विज्ञसहित ‘विशेष आन्तरिक विमर्श’ गरेको थियो।

तर, सरकारले परामर्श गर्न आवश्यक नठानेकाले कांग्रेसले पनि नमागेको औपचारिक सुझाव आफैँ अघि नसारेको शर्माले स्पष्ट पारेका छन्।

यद्यपि, सरकारको उक्त कमजोरीलाई भ्रमणको विषयवस्तुसँग जोडेर नहेर्ने बताउँदै शर्माले सरकारसँग विविध असहमति रहे पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा कांग्रेसको प्रतिबद्धता प्रधानमन्त्रीको साथमा अटल रहेको उल्लेख गरेका छन्।

यो भ्रमण क्षणिक लोकप्रियता वा तात्कालिक प्रचारमा सीमित नभई विगतका प्रतिबद्धताको कार्यान्वयन, समस्याको ठोस निदान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा केन्द्रित हुनुपर्ने कांग्रेसको अपेक्षा छ

 भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाले नभई नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्ने विज्ञप्तिमा उल्लेख छ।

मंसिर ५, २०८३ शनिबार १३:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।