चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने
काठमाडौं : नेपाल आयल निगमले चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आमउपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरिएको निगमले जनाएको छ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र उतारचढाव आइरहेको अवस्थामा निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो।
चाडपर्वमा उपभोक्तालाई राहत दिन बिक्री मूल्य यथावत् राख्दा निगमलाई भने ठूलो वित्तीय नोक्सानी हुने भएको छ।
यस निर्णयबाट निगमलाई पाक्षिक रूपमा करिब रु ३ अर्ब ४५ करोड ८१ लाख घाटा हुने निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अहिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १९७.५० रुपैयाँ, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)मा २ सय रुपैयाँ छ।
खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ छ भने हवाई इन्धन आन्तरिकतर्फ २४९ रुपैयाँ प्रति लिटर र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा १ हजार ६९७ अमेरिकी डलर, भैरहवामा १ हजार ३९५ अमेरिकी डलर र पोखरामा १ हजार ४१० अमेरिकी डलर छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग; सुर्खेत र दाङलाई दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा विभाजन गरेको छ।
असोज ३०, २०८३ शुक्रबार ०९:४६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।