वार्षिक रु ४ हजार ९९९ मै नेपाल टेलिकमको फाइबर इन्टरनेट, यस्ता छन् नयाँ प्याकेज
काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि लागू हुने गरी वार्षिक चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले साना तथा सुलभ दरका प्याकेजहरू बन्द गरिरहेका बेला टेलिकमले आमउपभोक्तालाई लक्षित गर्दै सहुलियत दरको यो नयाँ वार्षिक प्याकेज ल्याएको हो।
यसैगरी, टेलिकमले ‘फाइबर टु द होम’ (एनटी फाइबर) अन्तर्गत ‘वाइफाई-६’ प्रविधिमा आधारित उच्च गतिको नयाँ इन्टरनेट तथा टेलिफोन प्याकेज पनि सार्वजनिक गरेको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट र टेलिफोन सेवा जडान गर्दा १०० एमबिपिएसको ११ हजार ४९९ रुपैयाँ, १५० एमबिपिएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबिपिएसको १६ हजार ४९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
वार्षिक ग्राहकलाई प्रोत्साहन गर्न टेलिकमले सिमकार्डमा दैनिक ८०० देखि १००० एमबीसम्म मोबाइल डेटा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
साथै, यी प्याकेज लिने नयाँ ग्राहकका लागि रु ५०० बराबरको जडान शुल्कसमेत पूर्ण रूपमा मिनाहा गरिएको टेलिकमले जनाएको छ। यी सबै अफरहरू आजैदेखि लागू भएका छन्।
असोज ३०, २०८३ शुक्रबार ०९:२४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।