सङ्खुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइन, किमाथाङ्का पनि जोडिँदै
काठमाडौं : सङ्खुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका-३ स्थित हटियामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा विस्तार भएको छ।
प्रसारण लाइन पुगेसँगै स्थानीय बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाएका छन्।
यसअघि स्थानीय लघु जलविद्युत् आयोजनाको भरमा रहेको उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण प्रणाली जोडेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा ‘थ्री-फेज’ मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ।
केन्द्रीय लाइन पुगेपछि स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा साना घरेलु उद्योगहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
यसैबीच, चीनसँग सीमा जोडिएको भोटखोलाकै अन्तिम विन्दु किमाथाङ्कासम्म पनि चालु आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्य राखिएको छ। प्राधिकरणले यसका लागि आवश्यक ठेक्का प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
हाल सङ्खुवासभाका करिब ९५ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगिसकेको छ। बाँकी बस्तीहरूमा भने लघु जलविद्युत् र सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध गराइँदै आएको छ।
भौगोलिक रूपमा विकट मानिने भोटखोला क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि स्थानीयस्तरमा आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरू चलायमान हुने अपेक्षा गरिएको छ।
असोज २८, २०८३ बुधबार १२:०१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।