एनपिएल सीजन ३ मा को-को विदेशी खेलाडी आउँदैछन्?
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुन १३ दिन बाँकी रहँदा सहभागी फ्रेन्चाइज टोलीहरू विदेशी खेलाडी अनुबन्धको अन्तिम कसरतमा छन्। केही टोलीले डेभिड वार्नरदेखि शाकिब अलसम्मका अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीहरूलाई अनुबन्ध गरिसकेका छन् भने केही टोली विदेशी खेलाडी भित्र्याउन तयारी गरिरहेका छन्।
क्यान सचिव पारस खड्काले तेस्रो सिजनको एनपिएलका लागि आईसीसीबाट मान्यता पाउन कसरत भइरहेको बताउँदै आएका छन्। आईसीसीले मान्यता दिइनसकेको भए पनि नियमअनुसार प्रत्येक क्लबले टेस्ट खेलिरहेका बढीमा चार विदेशी खेलाडी मात्र अनुबन्ध गर्न पाउने प्रावधान छ।
सोही आधारमा एनपिएलमा आठ वटै फ्रेन्चाइज क्लबहरूले विदेशी खेलाडी अनुबन्ध गराउनु पर्ने हुन्छ। आईसीसीको यही नियममा रहेर केही क्लबले टेस्ट मान्यता प्राप्त राष्ट्रका खेलाडीहरूलाई अनुबन्ध गरेका छन्।
एनपिएल सुरु हुन १३ दिन बाँकी रहे पनि क्लबहरूले खेल चलिरहेकै अवस्थामा समेत केही म्याचका लागि विदेशी खेलाडी अनुबन्ध गर्ने गरेका छन्। यद्यपि, त्यस्तो अवस्थामा पनि उनीहरूले आईसीसीको नियम भने अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। तेस्रो सिजनको लागि पनि केही क्लबहरूले चर्चित विदेशी खेलाडीहरू अनुबन्ध गरिसकेका छन्।
पहिलो सिजनमा चर्चित भारतीय खेलाडी शिखर धवनलाई ल्याउँदा एनपिएलको क्रेज बढेको थियो। सोही सिजनमा मार्टिन गप्टिल, जिम्मी निशम, पाकिस्तानका सोहेल तनबीर र इंग्ल्यान्डका रवि बोपारासमेत एनपिएल खेल्न आएका थिए।
त्यसपछि दोस्रो सिजनमा दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसी र बेन पार्नेल आएका थिए भने अष्ट्रेलियाका क्रस लिनलाई ल्याएको थियो। जसले गर्दा तेस्रो सिजनको लागि पनि क्लबहरूले विदेशी केही खेलाडीलाई ल्याइसकेका छन् भने केहीले ल्याउने क्रम जारी राखेका छन्।
तेस्रो सिजनमा को-को खेल्न आउँदैछन् चर्चित खेलाडी ?
एनपिएलमा यस पटकको काठमाडौं गोर्खाजबाट अष्ट्रेलियन डेभिड वार्नर खेल्न आउँदै छन्। ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप गरी तिन वटै विधा जित्दा उनी टोलीको मुख्य सदस्य थिए। सन् २०१५ र २०२३ को ओडीआई विश्वकप, सन् २०२१ को टी-२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका थिए।
तेस्रो सिजनको लागि जनकपुर बोल्डसमा अनुबन्ध भएका अर्का चर्चित खेलाडी हुन्, मोइन अलि। इंग्ल्यान्डका यी खेलाडीले पनि तिन वटै विधाको अनुभव भएका खेलाडी हुन्। उनले सन् २०१९ मा भएको एक दिवसीय र २०२२ को टी-२० विश्वकप इग्लाण्डले जित्दा उनी टोलीको मुख्य खेलाडी थिए। उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीको नेतृत्व समेत गरेको अनुभव छ।
एनपिएलको तेस्रो संस्करणमा खेल्ने अर्का चर्चित खेलाडी हुन्, बंगलादेश क्रिकेट टोलीको कप्तानी सम्हालेका शाकिब अल हसन्। पूर्वअलराउन्डर खेलाडी शाकिब बंगलादेशी राष्ट्रिय टोलीबाट भने बिदा भइसकेका खेलाडी छन्। तर उनलाई फ्रेन्चाईज लिगमा कुनै समय शाकिबले राज गरेका थिए। उनी तेस्रो सिजनको एनपिएलमा पोखरा एभेन्जर्सबाट खेल्ने छन्।
चर्चित मध्येका अर्का हुन्, जिम्बाब्वेका सिकन्दर राजा, जिब्बाब्वे राष्ट्रिय टोलीका कप्तान उनी टी-२० क्रिकेटको र्याङकिङ्गमा उनी दोस्रोमा नम्बरमा प्रभावशाली ब्याट्म्यान हुन् भने बलिङ्गमा समेत उनी राम्रो मानिन्छन्। टी-२० मा हालसम्म ११४ विकेट लिएका छन् भने १४४ खेल खेलेका छन्। उनी चितवन राईनोजबाट एनपिएलको तेस्रो सिजनमा देखिने छन्। त्यसैगरी, विराटनगरले भित्र्याएको श्रीलंकाका चरिथ अशलंका पनि छन्।
अन्य विदेशी खेलाडी को-को छन्?
तेस्रो सिजनको एनपिएलमा केही टोलीले पुरानै विदेशी खेलाडीलाई समेत अनुबन्ध गरेका छन्। जसमा सुदूरपश्चिमले इग्ल्याण्डका सेफ अलि जैब र न्यूजल्याण्डका स्कट कुगेलेइनलाई तेस्रो सिजनमा समेत खेलाउने भएको छ। कुगेलियनको एनपिएलको यो समेत गर्दा तेस्रो सिजन हुन्छ, भने सेफ अलि जैबले यसअघि चितवनबाट खेलेका थिए।
त्यसगरी, पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सले भारतीय मूलका अमेरिकन खेलाडी हरमित सिंहलाई अनुबन्ध गरेको छ भने जिम्मी निसमलाई समेत तेस्रो सिजनको लागि अनुबन्ध गरेको छ। जिम्मी पहिलो सिजनमा जनकपुरबाटै खेलेका थिए भने दोस्रोमा पोखरा एभेन्जर्सबाट केही खेल खेलेका थिए। जनकपुरलाई पहिलो सिजनको एनपिएल जिताउन जिम्मी निसमको मुख्य भूमिका थियो।
लुम्बिनी लायन्सले श्रीलंकाको लागि दोस्रो सिजन खेलेका श्रीलंकाली विकेटकिपर तथा ब्याट्म्यान निरोशन डिकवेलालाई तेस्रो सिजनको लागि अनुबन्ध गरेको छ। लुम्बिनीले तेस्रो सिजनको लागि नयाँ खेलाडी भित्र्याउने तयारी समेत गरेको छ। जसमा उसले कुन खेलाडी ल्याउन खोजेको हो, भन्ने खुल्दैन। यसलाई उसले सस्पेन्स नै राखेको छ।
चितवन राईनोजले तेस्रो पटक विदेशी खेलाडीको कोटबाट पाएको एक खेलाडी रबी बोपारालाई नै तेस्रो सिजनमा मैदानमा उतार्ने भएको छ। यता, पोखरा एभेन्जर्सले पनि विदेशी कोटामा पाएको श्रीलंकाका अलराउण्डर धनञ्जय लक्षणलाई नै तेस्रो सिजनमा खेलाउने भएका छन्।
त्यसैगरी, पहिलो सिजनमा शिखर धवन ल्याएर हंगामा गरेको कर्णाली याक्सले यस पटक ३ जना विदेशी खेलाडी भित्र्याएको छ। जसमा बंगलादेशको युवा खेलाडी अकबर अलिलाई पहिलो पटक भित्र्याएको छ। उनी २०२४ वर्षका मात्रै छन् भने २०२० मा भएको यु-१९ विश्वकपमा उनी टोलीका कप्तान थिए।
त्यसैगरी, बंगलादेशकै अर्का मुख्य खेलाडी अरिफुल इस्लामलाई पनि अनुबन्ध गरेका छन्। बङ्गलादेशको उमेर समूहको क्रिकेटबाट पहिचान बनाएका अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन्। उनले बङ्गलादेशको हाइ पर्फमेन्स टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन्। एनपिएलमा भने यी दुई खेलाडी पहिलो पटक खेल्दै छन्।
त्यसैगरी, कर्णालीबाट अर्का विदेशी खेलाडीमा स्कटल्यान्डका मार्क वाट छन्। एनपिएलमा उनको यो दोस्रो सहभागिता हो। दोस्रो सिजनमा उनले लुम्बिनी लायन्स विरुद्धको खेलमा ११४ रन बनाएका थिए। उनले ४१ बलमै शतक हानेका थिए। यता, विराटनगरले तेस्रो सिजनमा अमेरिकी खेलाडी शुभम रञ्रनेलाई नै निरन्तरता दिएको छ। उनी दोस्रो सिजनमा पनि विराटनगरबाटै खेलेका थिए।
असोज २७, २०८३ मंगलबार २१:१९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।