विश्वकप लिग-२ : रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

विश्वकप लिग-२ : रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं : रोहित पौडेलको अर्धशतक र खेलको अन्त्यतिर करण केसीको बिस्फोटक ब्याटिङको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानलाई २६४ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको योगफल बनायो।

नेपालका लागि ६७ बल खेलेका रोहित पौडेलले तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए। 

अर्जुन कुमाल र इशान पाण्डेले ६४ रनको महत्त्वपूर्ण साझेदारी गरे। अर्जुनले ५९ बलमा ४ चौकासहित ४० रन तथा इशानले ५५ बलमा ४ चौकासहित ३७ रनको योगदान दिए।

बसिरले ५० बलमा ३ चौकासहित ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा सन्दीप जोराले १० रन थपे। आसिफ शेखले १५ बलमा ४ रन बनाए। 

अन्तिम ओभरहरूमा करण केसीले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई विशाल योगफलतर्फ पुर्याए। करणले मात्र १६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४० रन बनाए। नन्दन यादव ९ बलमा ७ रन बनाएर नटआउट रहे।

बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले  समान दुई–दुई विकेट लिए। त्यस्तै हस्नेन शाहले एक विकेट लिए। ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

जारी शृङ्खलामा दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छन्। यसअघि आ-आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले र ओमानले क्यानडालाई नै ४१ रनले पराजित गरेका थिए। एकदिवसीय (ओडिआई) मान्यता जोगाइराख्नका लागि नेपाललाई आजको खेल निकै महत्त्वपूर्ण छ।

हाल अङ्क तालिकामा ओमान चौथो स्थानमा छ भने नेपाल छैटौँ स्थानमा रहेको छ। आज जित हात पारे नेपालले तालिकामा आफ्नो स्थिति थप सुधार गर्नेछ।

आईसीसीको प्रावधानअनुसार लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीले सिधै एकदिवसीय मान्यता कायमै राख्नेछन् भने पुच्छारका दुई टोलीले मान्यता जोगाउन ‘विश्वकप क्वालिफायर प्लेअफ’ खेल्नुपर्ने हुन्छ।

असोज २७, २०८३ मंगलबार १५:३९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।