२ रन जोड्दा नेपालले गुमायो दुई ‘सेट’ ब्याटर

२ रन जोड्दा नेपालले गुमायो दुई ‘सेट’ ब्याटर

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा नेपालले दुई रन जोड्दा दुई ‘सेट’ ब्याटरलाई गुमाएको छ।

अल अमरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले राम्रो लय समातिसकेको अवस्थामा लगातार दुई ओभरमा दुई महत्त्वपूर्ण विकेट गुमाएको हो। २१.५ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ८३ रन बनाएको छ।

नेपालले ८१ रनको स्कोरमा दोस्रो विकेटका रूपमा इशान पाण्डेलाई गुमाएको थियो। २१औँ ओभरको चौथो बलमा ओमानका करण सोनावलेले इशानलाई ३७ रनमा बोल्ड गरे। उनले ५५ बल खेल्दै ४ चौका प्रहार गरेका थिए।

लगत्तै अर्को ओभरको पाँचौँ बलमा शकील अहमदले अर्का सेट ब्याटर अर्जुन कुमाललाई एलबीडब्लूको सिकार बनाए। अर्धशतकतर्फ उन्मुख रहेका अर्जुन ४० रन बनाएर आउट भए। उनले ५९ बलमा ४ चौका प्रहार गरे। ८१ रनबाट ८३ रन पुग्दा नेपालले यी दुई मुख्य ब्याटरलाई गुमाएको हो।

यसअघि नेपालको सुरुआत भने कमजोर रहेको थियो।

ओपनर आसिफ शेख व्यक्तिगत ४ रनमै शाह फैजलको बलमा क्याच आउट भएपछि नेपालले १९ रनमै पहिलो विकेट गुमाएको थियो। त्यसपछि अर्जुन र इशानले दोस्रो विकेटका लागि ६२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।

यी दुई ब्याटर आउट भएसँगै क्रिजमा आएका कप्तान रोहित पौडेलले खाता खोल्न बाँकी छ।

असोज २७, २०८३ मंगलबार १२:५२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।