उखु किसानको प्रोत्साहन अनुदान अब सिधै बैंक खातामा, नयाँ कार्यविधि जारी

उखु किसानको प्रोत्साहन अनुदान अब सिधै बैंक खातामा, नयाँ कार्यविधि जारी

काठमाडौं : उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदान वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ ल्याएको हो।

नयाँ व्यवस्था अनुसार अनुदान पाउन इच्छुक किसान, फर्म, समूह वा सहकारीले साउनदेखि असोज मसान्तभित्र आफ्नो स्थानीय तहमा सूचीकरणका लागि निवेदन दिनुपर्नेछ। स्थानीय तहले कात्तिक मसान्तभित्र किसानको लगत प्रमाणित गरी जिल्लास्थित भुक्तानी समिति र कृषि कार्यालयमा पठाउनुपर्नेछ।

चिनी मिलहरूले उखु क्रसिङ सुरु भएपछि प्रत्येक १५ दिनमा उखु खरिदको विवरण स्थानीय तहमा बुझाउनुपर्नेछ भने मंसिरभित्र वार्षिक क्रसिङ कार्ययोजना कृषि विभागमा पेस गर्नुपर्नेछ।

अनुदान भुक्तानीका लागि चिनी मिल भएका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भुक्तानी समिति गठन गरिनेछ। स्थानीय तहको सिफारिस र समितिको निर्णयका आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले 'पहिले आउनेलाई पहिलो प्राथमिकता' को आधारमा सिधै किसानको बैंक खातामा रकम पठाउनेछ।

समूह वा सहकारीमार्फत उखु बिक्री गरे पनि अनुदान रकम भने सम्बन्धित किसानकै व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ।

कार्यविधिले फर्जी विवरण पेस गरी अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्ने व्यवस्था गरेको छ। सरकारी वा सरकारी स्वामित्वका संस्थाले भने यो अनुदान नपाउने कार्यविधिमा उल्लेख छ।

असोज २७, २०८३ मंगलबार १०:३४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।